काठमाडौँ महानगर र सङ्घको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । काठमाडौँ महानगर र सङ्घको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।  काठमाडौँ महानगरपालिकाले  बागमती प्रदेश क्रिकेट संघको सहकार्यमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण सुरु गरेको हो ।
त्यस्तै, गत भदौ २९ गते महानगर र संघबीच भएको सम्झौता अनुसार  सोमबारदेखि सुरु भएको प्रशिक्षणमा सामुदायिक विद्यालयका माध्यमिक तहका खेल शिक्षक र प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी गराइएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिएका छन् । प्रशिक्षणमा ५० जना क्रिकेट प्रशिक्षकलाई तालिम दिइ  उनीहरूमार्फत खेलाडीलाई सीप सिकाउनु उद्देश्य रहेको महानगरको भनाइ छ ।
आचार्यले  भने, ‘प्रशिक्षणमा सैद्धान्तिक कक्षासहित एम्बेसी पार्कमा प्रयोगात्मक प्रशिक्षण हुनेछ । साथै, सैद्धान्तिक कक्षामा प्रशिक्षकको भूमिका, शारीरिक तन्दुरुस्ती, निर्णायक, ब्याटिङ, बलिङ, विकेट किपिङबारे जानकारी दिइने छ ।’ उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक अनिल अधिकारी, क्रिकेट प्रशिक्षक (लेभल-३) राजु बस्नेत, लेभल-२ का प्रशिक्षकहरु कलाम अली, मनोज कटुवाल, रिकेश लामा, सुजन महर्जन, निर्णायक विनय झालगायतले प्रशिक्षण दिनेछन् ।  प्रशिक्षणसँगै संघले वडा स्तरमा ‘क्रिकेट नेट’ राख्न प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
यो काम तीन महिनाभित्र सम्पन्न हुनेछ । यसका लागि महानगरले  १० लाख रुपैयाँ उपलब्ध गराउने छ । यसरी उपलब्ध गराइने रकम काम थालनी भएपछि ४० प्रतिशत र बाँकी प्रगतिका आधारमा उपलब्ध गराउनेछ । अनुगमन तथा मूल्याङ्कन समिति वा खटाइएका कर्मचारीले सम्पादित कार्यको समय-समयमा अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था गरेको छ ।
यस्तै, चालु आर्थिक वर्षमा महानगरले १ टोल १ खेलकुद पूर्वाधार निर्माण तथा समग्र खेलकुद क्षेत्र विकासका लागि स्वर्णिम योजनासहितको कार्यक्रम सञ्चालन गर्नका लागि  १० करोड ५० लाख रुपैयाँ रकम विनियोजन गरेको छ  । एक वडा एक नमूना उद्यान कार्यक्रम सञ्चालन गर्नका लागि १ करोड रकम विनियोजन गरेको छ ।
महानगरले चालु आर्थिक वर्षमा विशेष महत्वका साथ दशवटा विषयगत क्षेत्रका गौरवका योजना छनोट गरेको छ । त्यसका लागि ३ अर्ब ८० करोड र २५ स्वर्णिम योजनाका लागि २ अर्ब रकम विनियोजन गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्