मानव अस्तित्व रहेसम्म बुद्धकाे दर्शन जीवित रहन्छ: प्रधानमन्त्री दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अस्तित्व रहँदासम्म बुद्ध दर्शन जीवित रहने बताएका छन् । विश्वशान्तिको कामना गर्दै पश्चिम नवलपरासीको रामग्राम स्तुपमा (आज) मंगलबार आयोजित विशेष कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

दाहालले विश्वशान्ति आजको आवश्यकता रहेको बताउँदै हामी यो सन्देश विश्वभर फैलाउन सफल भएको उल्लेख गरेका छन् । भगवान गौतमबुद्धले दिएको उपदेशको आवश्यकता र औचित्य अहिले थप पुष्टि भएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले त्यस अवसरमा रामग्राम स्तुप विकासको गुरुयोजना कार्यान्वयनको प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले रामग्राम स्तुप क्षेत्रको पुन:स्थापना, संरक्षण र विकासका लागि दुरदर्शी काम गर्ने बताएका छन् ।

यस कार्यक्रमले विश्वशान्तिका लागि ठूलो सन्देश दिने भन्दै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेस र आफूले लुम्बिनीमा विश्वशान्तिको कामनाका लागि प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले भने, ‘आजको कार्यक्रमले विश्वसामू नयाँ सन्देश जाने मात्र होइन, रामग्राम स्तूप र समग्र लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ ।’

बुद्धकालीन सम्पदाको संरक्षण र विकासका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको बताउँदै उनले बुद्धको दर्शन, विचार र उपदेशबाट आफू सधैँ प्रेरित भएको हुँदा बुद्धकालीन सम्पदाको विकासमा आफूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिलौराकोट, लुम्बिनी र रामग्राम स्तुपलाई समेटेर सरकारले वृहत्तर योजना अघि सारेको जानकारी दिएका छन् ।

उनले भने, ‘नेपाल बहुभाषिक, बहुजातीय मुलुक भए पनि सबै धर्म र समुदायले बुद्ध दर्शनलाई अङ्गालेका छन्, यही नै हाम्रो धार्मिक सहिष्णुता हो । यही नै हाम्रो एकताको सन्देश हो ।’ कार्यक्रममा विदेशी राष्ट्रका प्रतिनिधि तथा बौद्धमार्गीहरुको उल्लेख्य उपस्थिति थियो । शान्तिका अग्रदूत गौतमबुद्धको अस्तुधातु रहेको एतिहासिक तथा धार्मिकस्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नवलपरासी गएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्