सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व: प्रमुख आयुक्त गुरुङ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगले आज मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख आयुक्त गुरुङले यस्तो बताएका हुन् ।

उनले यसका लागि सजग हुन उनले सबैलाई आग्रह गरेका छन् । लोकतान्त्रिक पद्धतिमा सार्वजनिक निकायका क्रियाकलाप हरेक नागरिकले थाहा पाउने अधिकार भएकाले सूचनाको हक अझ महत्पूर्ण भएकोसमेत गुरुङले बताएका छन् । नियम सम्बद्ध तवरबाट मागिएका सूचना सार्वजनिक निकायले नदिएमा उजुरी परेका खण्डमा आयोगले त्यस्ता निकायलाई कारबाही गर्ने उनले जानकारी दिएका छन् ।

त्यस्तै, चार वर्षको अवधिमा आयोगले स्थानीय तहका १९ पदाधिकारीलाई कारबाही गरेको सो अवसरमा प्रमुख आयुक्त गुरुङले जानकारी दिएका छन् । कुनै पनि सार्वजनिक निकाय सूचनाको हकभन्दा माथि नरहेकाले सूचना प्रदान गर्नमा कन्जुस्याइँ नगर्न उनले आग्रह गरेका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले नागरिकलाई जतिसक्दो धेरै सूचना माग्ने वातावरण सृजना गर्नु कर्मचारीको दायित्व भएको बताएका छन् ।

कानुनले निर्दिष्ट गरेका अधिकार नागरिकलाई उपलब्ध गराउने सवालमा जिल्लाका सबै कर्मचारी प्रतिबद्ध रहेका उनले उल्लेख गरेका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख टीकामाया मगरले सूचनालाई अतिरञ्जित गर्न नहुनेमा जोड दिए । सूचनाको हकले नागरिकलाई विषयवस्तुबारे जानकारी गराए पनि सूचना दुरुपयोग हुने क्रम बढेको आभास भएको बताएका छन् ।

सोलु दूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले लोकतन्त्रको सबल पक्षमध्ये सूचनाको हक पनि भएकाले नागरिक सुसूचित हुनुपर्ने बताएका छन् । उनले भने, ‘कार्यालयहरूले सूचना आदानप्रदान गर्दा गोपनीयताको हकको पनि ख्याल गर्नुपर्छ ।’ सरकारी सूचना प्राप्त गर्न पाउनु नागरिकको अधिकार भए पनि प्राप्त सूचनाको दुरुपयोग गर्न भने नहुने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाका सचिव डिबी खालिङले सूचनाको पहुँचमा नागरिकलाई पुर्याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, कार्यालयका सूचना अधिकारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्