काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा (आज) बुधबारदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिएका छन् ।

विभागका प्रमुख पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरेको छ । प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ ।

यस्तै, सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको स्वास्थ्य विभागका प्रमुख पौडेलले जानकारी दिएका छन् । महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो ।

महानगरले सार्वजनिक ठाउँ, विमानस्थल, सार्वजनिक शौचालय, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्धाश्रम, पसल, पार्कलगायत क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ । साथै, अटेर गर्नेलाई कारबाही गरिने काठमाडौँ महानगरले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्