हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै दाहालले यस्तो बताएका हुन् ।

उनले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । उक्त प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत त्यस्तो सूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताएका छन् । उनले भने, ‘मैले युरोपेली युनियनका प्रतिनिधिसँग यस विषयमा कुराकानी गरेको छु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग पनि पटकपटक छलफल गरेको छु । हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको छविमाथि प्रश्न उठ्न सक्छ । त्यसैले म यसमा गम्भीर छु ।’

यसपटक हवाई सुरक्षामा केही सुधार भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसको आधारमा कालोसूचीबाट हट्छौँ कि भन्ने विश्वास भए पनि त्यो पर्याप्त नभएको बताएका छन् । उनले भने, ‘हाम्रो सुधार पर्याप्त भएन । थप सुधारका निम्ति काम गर्नुपर्ने देखिएको छ । तँपाईहरूले दिएका सुझाव महत्वपूर्ण छन् । नियामक निकायसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्