असुरक्षित गर्भपतन गराउँदा ज्यान जोखिममा पर्न सक्छ !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कञ्चनपुरमा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा नि:शुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत आर्थिक वर्ष २०७९-८० मा कञ्चनपुरमा २ हजार ५ सय २२ जना महिलाले यो सेवा लिएको बताएका छन् । कञ्चनपुर प्रहरीले पनि केही समययता अवैध गर्भपतन लगायत स्वास्थ्य क्षेत्रमा बिना अनुमति सञ्चालनमा रहेका मेडिकल बन्द गराउन थालेपछि सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीको वृद्धि भएको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको हालसम्म त्यहाँ ८ सय ९५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सूचना अधिकृत कार्कीले भने, ‘मासिक २ सय २० भन्दा बढी सेवाग्राही यो सेवा लिन आएको देखिन्छ । कञ्चनपुरमा पनि प्रादेशिक अस्पतालदेखि सरकारी केही स्वास्थ्य संस्थामा यो सेवा तोकिएको छ ।’

यस्तै, नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरका कार्यालय प्रमुख उद्धव भट्टले पनि पछिल्लो समय स्वास्थ्य संस्थामा सेवा पुगेसँगै सेवाग्राहीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको जानकारी दिएका छन् । उनले भने, ‘पहिलो निश्चित ठाउँमा भएकाले बेला परिवार नियोजन सङ्घमा मासिक एक सय भन्दा बढी सेवाग्राही पुग्थे । हामीकहाँ औषधि र औजार विधिबाट यो सेवा प्रवाह गरिरहेका छौँ ।’

उनले मासिक ३५ देखि ४० सेवाग्राही सेवा लिन आउने गरेको जनाउँदै आउनेमध्ये अधिकांश औषधिविधि रोज्ने गरेको जानकारी दिएका छन् । कञ्चनपुरमा सङ्घले सन् २००८ देखि यो सेवा दिँदै आएको कार्यालय प्रमुख भट्टको भनाइ छ । स्वास्थ्य कार्यालयले भने शतप्रतिशत सेवाग्राही अझै सरकारी स्वास्थ्य संस्थामा आइनसकेको बताएका छन् ।

सूचना अधिकृत कार्कीले भने, ‘अझै पनि लुकिछिपी अवैध रुपमा मेडिकल र भारतमा गएर पनि गर्भपतन गराउने रहेको बुझिन्छ । अवैध तरिका अपनाउदा ज्यान जोखिममा पर्न पनि सक्छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्