भूकम्प प्रभावितका लागि उपलब्ध ८ करोड रुपैयाँ फिर्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये ८ करोड रुपैयाँ फिर्ता गरेको छ । पहिलो किस्ताको १४ करोड रुपैयाँमध्ये  १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो । सो रकम विपद् व्यवस्थापन कोषमा पठाएको उनले बताएका छन् । भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो ।

प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले उक्त क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुुपर्ने भएकोले रकम फिर्ता गर्न पत्र पठाएको प्रजिअ पौडेलले बताएका छन् । प्राधिकरणले बाजुराका भूकम्पप्रभावितका लागि अस्थायी आवास निर्माण गर्न गत मङ्सिर ४ गते पहिलो किस्ताबापत रु १४ करोड पठाएको उनले जानकारी दिएका छन् । निकासा भएको सो रकममध्ये हिमाली गाउँपलिका र बूढीगङ्गा नगरपालिकाबाहेक जिल्लाका सात स्थानीय तहका १ हजार ५ सय ९ प्रभावित परिवारका लागि ३ करोड ७७ लाख रुपैयाँ सम्बन्धित स्थानीय तहमा पठाइसकेको प्रजिअ पौडेलले बताएका छन् ।

यस्तै, खप्तड छेडेदह गाउँपािलकामा ९ सय ६६, त्रिवेणी नगरपालिकामा १ सय १३, गौमुल गाउँपालिकामा ५५, बूढीनन्दा नगरपालिकामा ६५, स्वामीकार्तिक खापर गाउँपालिकामा नौ, जगन्नाथ गाउँपालिकामा ७४ र बडीमालिका नगरपालिकामामा २ सय २७ परिवारलाई प्रतिपरिवार रु २५ हजारका दरले उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको खातामा पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्राधिकरणले गत असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्