रजबासमा नि:शुल्क स्वास्थ्य शिविर, ५ सय ४६ जना सेवाग्राहीले लिए सेवाको सुविधा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ रजबासमा आयोजना गरेको स्वास्थ्य शिविरमा ५ सय ४६ जनाले सेवा लिएका छन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर दुई दिनसम्म चलेको थियो ।

शिविरमा जनरल मेडिकल, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नशारोग, नाक, कान, घाँटीरोग, आँखा परीक्षण तथा उपचार, दन्तरोग, इसिजी सेवा, एक्सरे, भिडियो एक्सरे सेवा, शल्यक्रिया सर्जरी सेवा, ल्याब सेवाको सुविधा दिएको थियो । आयोजकका अनुसार रजबास आसपासका नागरिकले प्रसूति तथा स्त्रीरोगका ५७, बालरोगका ४६, हाडजोर्नी तथा नशा रोगका १ सय ९५ जना, नाक, कान, घाँटी रोगका ५८ जना, आँखारोगका ३ सय ७४, दन्त रोगका ८१, इसिजी सेवामा ८८ जना, भिडियो एक्सरे सेवामा १ सय ९६ र शल्यक्र्रिया सर्जरी सेवामा ४४ जनाले सेवा लिएका थिए । यसमा अर्थोपेडिकका बिरामी नौजना, नाक, कान घाँटीका बिरामी सात, सर्जरीका २२ गरी ४१ जनाको थप उपचार आवश्यक रहेको आयोजकले जनाएका छन् ।

त्यस्तै, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशीका नागरिकको स्वास्थ्योपचारमा गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन् । रोशीका नागरिकको स्वास्थ्यमा ध्यान दिएर ५ हजार ८ सय घरपरिवारमध्ये २ हजार १ सय घरपरिवारको गाउँपालिकाले नि:शुल्क स्वास्थ्य बीमा गरेको र आगामी दिनमा त्यो सङ्ख्यालाई बढाउँदै लाने उनको भनाइ छ ।

ग्रामीण भेगका मानिसको स्वास्थ्योउपचारमा संलग्नता हुन पाएकामा खुसी लागेको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालका डा रोशन ओझाले जानकारी दिएका छन् । स्वास्थ्योपचारका लागि टाढा पुग्नुपर्नेमा गाउँमा नै डाक्टरसहितको टोली आएर स्वास्थ्य सेवा दिएकामा स्थानीय कुमार किङरिङ मगरले खुसी व्यक्त गरेका छन् ।

उनले भने, ‘यसबाट स्वास्थ्यलाभ त भयो नै, आर्थिक पनि बचेको छ ।’ ग्रेस नेपाका अध्यक्ष राजकुमार थापाले गाउँका कुनाकन्दरामा रहेका नागरिकको स्वास्थ्योपचारमा पहुँच पुर्याउन गाउँको दूरदराजमा गएर नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्