स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्छ: प्रधानमन्त्री दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने बताएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहका क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताउँदै नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ भनेका छन् । प्रधानमन्त्री दाहालले भने, ‘नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ, समग्र स्थानीय सरकारको विश्लेषण गर्दा त्यो जिम्मेवारी जवाफदेही पूरा गर्न सफल भएकामा ललितपुर महानगरपालिकाका जनप्रतिनिधिसमेत सम्पूर्ण परिवारमा धन्यवाद ज्ञापन गर्दछु ।’

त्यस्तै, प्रधानमन्त्रीले ललितपुर महानगरपालिकाले मूर्त र अमूर्त सम्पदा संरक्षणमा लिएको चासो र गरेको चिन्तन प्रशंसनीय रहेको धारणा राख्दै उनले महानगरभित्र निर्माण भइरहेका देवालय, शिवालय यसका ज्वलन्त उदाहरण भएको बताएका छन् । उनले संस्कृतिलाई आयआर्जनसँग जोड्ने काममा विशेष ध्यान दिनु जरुरी छ भन्दै पर्यटन प्रवद्र्धनमा ललितपुर महानगरको अग्रणी भूमिका रहेको जानकारी दिएका छन् । उनले विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा महानगर विवादरहित ढङ्गले बढिरहेकामा खुसी व्यक्त गरेका छन् ।

सङ्घीयता भनेको सङ्घ मात्रै होइन, सङ्घसँगै प्रदेश र स्थानीय तह पनि हो भन्दै प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन ल्याएर प्रदेश र स्थानीय तहलाई बलियो बनाउन आफू लागिपर्ने जानकारी गराएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सङ्घीयताको कार्यान्वयनमा सङ्घीयताको मर्मअनुरुप संविधानले समन्वय सहकार्य र सहअस्तित्वको व्यवस्था गरेको र मिलेर विकास निर्माण गर्नुपर्ने धारणा राखेका छन् । उनले उपत्यकालाई धुलोरहित बनाउन र यातायातको व्यवस्था सहज बनाउन लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यस्तै, ललितपुर क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर महर्जनले ललितपुरलाई सांस्कृतिक महानगरका रुपमा विकास गर्न धेरै काम गर्न बाँकी रहेको बताएका छन् । त्यसैगरी बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जनताको समस्या समाधानका लागि महानगरले गरिरहेका कामको प्रशंसा गर्दै वातावरण सुधारदेखि संस्कृति सम्पदा संरक्षणमा गरेको काम उत्कृष्ट रहेको धारणा राखेका छन् ।

संविधानसभा सदस्य तथा पूर्वनगर उपप्रमुख चन्द्र महर्जन स्मार्ट स्टेटलाइट, संस्कृति सम्पदा संरक्षणमा ललितपुर महानगरले गरेको कामको जनताले प्रशंसा गरिरहेको बताएका छन् । उनले संविधानका बारेमा जनतामा चेतना जगाउन विद्यार्थीमा जानकारी गराउनुपर्ने र पाठ्यक्रममा समेटिनुपर्ने धारणा राखेका छन् । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरवासीलाई पानीको व्यवस्था गर्न र त्यहाँबाट उत्पन्न हुने फोहरमैलाको व्यवस्थापनका लागि सहयोग र सहजीकरणका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

विसं २०७८ को जनगणनाअनुसार ललितपुर महानगरको जनसङ्ख्या २ लाख ९४ हजार ९८ छ । ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा पूर्वाधार’ भन्ने नारासहित सेवा प्रदान गर्दै आएको महानगरले आजदेखि आफ्ना नागरिकको स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । प्रधानमन्त्रीले आपाङ्गता भएका दुई व्यक्तिलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरेसँगै यो कार्यक्रमको सुभारम्भ भएको हो । विसं १९७५ पुस २ गते सरसफाइ अड्डाका नामबाट स्थापित सरकारी कार्यालय पछि नगरपालिका र उपमहानगरपालिका हुँदै विसं २०७३ चैत १० गते ललितपुर महानगरपालिकामा परिणत भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्