मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु गरेको छ । मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौँवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको हो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बुधबारदेखि मेलम्ची नदीको पानी पथान्तरण गरी चाँडै काठमाडौँ ल्याउने कार्य योजनाका साथ निर्माण व्यवसायी परिचालन गरेको जानकारी दिएका छन् । मंगलबार सचिव आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठक बसेको थियो ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी २८ दिनभित्र पानी पथान्तरणको कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायी सिनो हाइड्रोसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको छ ।

यस्तै, मनसुन सुरु हुनुअघि मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौँ ल्याएको छैन । खानेपानीको अभाव झेल्दै आएका काठमाडौँ वासीले उपत्यका संघर्ष समिति गठन गरी रित्ता गाग्रा र बाल्टीसहित २ पुसमा प्रदर्शनमा उत्रिएका थिए । पानी माग्दै उपभोक्ताले प्रदर्शन गरेपछि मंगलबार खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको बैठक बसेको थियो ।

सो बैठकमा निर्माण व्यवसायी सिनोहाइड्रो मार्फत् नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको छ । सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालित भएको प्रवक्ता पन्तको भनाइ छ । प्रवक्ता पन्तले भने, ‘आकस्मिक परिस्थिति परेको बाहेक बढीमा २८ दिनको कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्य सम्पन्न गरिने छ ।’

पथान्तरण पश्चात् मेलम्चीको पानी दैनिक १७ करोड लिटरको दरले उपलब्ध गराइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । प्रवक्ता पन्तले भने, ‘उपत्यका खानेपानी लिमिटेड केयूकेएलबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौँ उपत्यकाका घर-घरमा पुन: वितरण हुने छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्