इलाममा धानको उत्पादन बढ्यो, रोपाइँ हुने क्षेत्रफल घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिएका छन् ।

उनका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत बढेको छ । यद्यपि गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ । गत वर्ष १४ हजार ८ सय १५ हेक्टर क्षेत्रमा धान लगाइएकामा यस वर्ष १४ हजार ८ सय १० हेक्टर क्षेत्रमा मात्र धान लगाएका थिए ।

यस्तै, गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ३.३१ मेट्रिक टन थियो । यस वर्ष बढेर प्रतिहेक्टर ३.३२ मेट्रिक टन पुगेको छ । परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणालीको प्रयोगसँगै मल, बीउबिजन र सिँचाइको उचित व्यवस्थापनले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताएका छन् । उनले भने, ‘हामीले किसानलाई विभिन्न मेसेरेनरी सामग्री तथा यन्त्र उपकरण अनुदानमा दिएका छौँ । यसले आधुनिक कृषि प्रणालीमा सहयोग पुर्‍याएको छ । उनीहरूले पनि उन्नत बीउबिजनको प्रयोग गरे । मल र सिँचाइको समेत व्यवस्थापन गरे । यसर्थ क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो ।’

इलाममा रन्जित, राधा-४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका एवं माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले जानकारी दिएका छन् । यसैगरी कोदोमा पनि उत्पादकत्व बढेको छ । गत वर्ष प्रतिहेक्टर १.२० मेट्रिक टन कोदो उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर १.२१ मेट्रिक टन कोदो उत्पादन भएको छ ।

त्यस्तै, यस वर्ष १ हजार ५ सय ८० हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा १ हजार ९ सय १५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष १ हजार ५ सय ९६ हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा १ हजार ९ सय १६ मेट्रिक टनमात्र कोदो उत्पादन भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्