प्रधानमन्त्री कप महिला क्रिकेट: एपीएफद्वारा सुदूरपश्चिम पराजित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले पराजित गरेको हो ।

काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा (आज) बिहीबार सुदूरपश्चिम टोलीका कप्तान ऋतु कनौजियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ८७ रन बनाएको हो । अठासी रनको विजय लक्ष्य एपीएफले १७औँ ओभरको पहिलो बलमा मात्र एक विकेट गुमाएर भेट्टाएको छ ।

एपीएफका लागि ज्योति पाण्डेले अविजित ४९ तथा इन्दू बर्माले अविजित ३१ रन बनाएकी छन् । पाण्डेले ४८ बल खेल्ने क्रममा नौ चौका हानेकी हुन् । बर्माले ४४ बलको सामना गर्दै चार चौका प्रहार गरिन् । बलिङतर्फ सुदूरपश्चिमकी इश्वरी विष्टले एक विकेट लिएकी छिन् ।

यस्तै, यसअघि ब्याटिङ गर्ने क्रममा सुदूरपश्चिमका लागि कविता जोशीले २२ र सम्झना खड्काले १२ रन बनाएकी छन् । यो बाहेक अन्य कुनै पनि खेलाडीले दोहरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ एपीएफका लागि सोनु खड्काले दुई तथा सुमन विष्ट, करुणा भण्डारी र इन्दू बर्माले एक एक विकेट लिएकी छिन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्