बालिकालाई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता
 काठमाडौँ । बालिकालाई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ परेका छन् । ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्टहाउसमा बालिकालाई ललाइफकाइ विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट प्रहरी खटिएका थिए । उक्त खटिएको प्रहरीले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाएका ४ जना बालिकालाई उद्धार गरी  सो कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो ।
यस्तै, आर्थिक अवस्था कमजोर भएका बालिकालाई ललाइफकाइ होटल-गेष्ट हाउसमा वेटर तथा सरसफाइको काममा लगाइदिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पीडित बालिकालाई विगत पाँच महिनादेखि होटल-गेष्ट हाउसबाट बाहिरसमेत निस्कन नदिई जबर्जस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएका छन् ।
प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्