इलामको एक स्थानीय तहले ज्येष्ठ नागरिकलाई पोसाक भत्ता उपलब्ध गराउँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । इलामको एक स्थानीय तहले ज्येष्ठ नागरिकलाई पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ । जिल्लाको देउमाई नगरपालिकाले नगरभित्रका ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई २ हजार रुपैयाँका दरले पोसाक भत्ता उपलब्ध गराउँदै आएको हो ।

उनीहरुलाई नगरपालिकाले प्रत्येक पहिलो त्रैमासिकमै पोसाक भत्ता उपलब्ध गराउँदै आएको लेखा अधिकृत गजेन्द्र येक्तनले जानकारी दिएका छन् । चालु आर्थिक वर्षमा नगरभित्र स्थायीरुपमा बसोबास गर्ने १ हजार ७ सय ५४ ज्येष्ठ नागरिकले पोसाक भत्ता पाएका छन् । उनीहरुले यस वर्ष मात्र ३५ लाख ८ हजार पोसाक भत्ता प्राप्त गरेको उनले बताएका छन् ।

यस्तै, गत आर्थिक वर्ष २०७९-८० मा १ हजार ५ सय ७६ जना ज्येष्ठ नागरिकले ३१ लाख ५२ हजार रुपैयाँ पोसाक भत्ता लिएका थिए । ज्येष्ठ नागरिकले वर्षमा एकपटक न्यानो नयाँ लुगा लगाउन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याएको नगरप्रमुख सूर्य पोख्रेलले जानकारी दिएका छन् ।

नगर प्रमुख पोख्रेलले भने, ‘शिक्षक, तथा सरकारी निकायका कर्मचारीलाई नेपाल सरकारले वर्षमा एकपटक पोसाक भत्ता दिन्छ, तर ज्येष्ठ नागरिकलाई दिँदैन । ज्येष्ठ नागरिकलाई पनि चाडबाडमा नयाँ लुगा लगाउन मन लाग्छ । यसर्थ वर्षमा एकपटक नयाँ न्यानो लुगा लगाउन् भनेर नगरले यस्तो कार्यक्रम सुरु गरेको हो ।’ पोसाक भत्ता पाउनका लागि देउमाई नगरभित्र स्थायी बसोबास भएको ज्येष्ठ नागरिक हुनुपर्छ । नगरपालिकाले ज्येष्ठ नागरिकलाई पोसाकका लागि चालु आवमा ३६ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

दीर्घरोगीलाई औषधि खर्च:

यसैगरी उक्त नगरपालिकाले दीर्घरोगीलाई औषधि खर्चवापत वार्षिक ५ हजार रुपैयाँ पनि उपलब्ध गराउँदै आएको छ । गत वर्ष नगरपालिकाले ४० दीर्घरोगीलाई २ लाख रुपैयाँ उपलब्ध गराएको थियो । चालु आवको पहिलो त्रैमासिकमा ११ दीर्घरोगीले ५५ हजार रुपैयाँ प्राप्त गरेको लेखा अधिकृत येक्तेनले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्