जाजरकोट भूकम्प: भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जाजरकोट भूकम्पका लाभग्राहीको संख्या बढेको छ । विवरण संकलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार ७ सय ८० पुगिसकेको छ । यो अझै थपिने क्रममा छ । यसअघि ५९ हजार रुपैयाँ भन्दाबढी लाभग्राही कायम भएकामा पछिल्लो अध्यावधिक तथ्यांकमा झण्डै ९ हजार थपिएका हुन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सङ्ख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको र सोहीअनुसारको तयारी भइरहेको जानकारी दिएका छन् । सुरूमा २८ हजार लाभग्राही कायम भएको थियो । त्यसपछि ४ हजार थपिएर ३२ हजार हुनपुग्यो । बढ्दै जाँदा ५९ हजार कायम भएकामा अहिले थपिएर ६७ हजार नाघेको हो ।

यस्तै, प्राप्त विवरणअनुसार अहिलेसम्म जिल्लामा ३५ हजार १ सय ४०, रुकुमपश्चिममा २३ हजार ६ सय ८, सल्यानमा १ हजार ७ सय ३०, बझाङमा ४ हजार ५ सय ७६ र बाजुरामा २ हजार ७ सय २९ लाभग्राही कायम भएको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताएका छन् । लाभग्राहीको सङ्ख्या बढिरहेसँगै उनीहरुका लागि पुन:स्थापन तथा अस्थायी आवास निर्माणको लागत पनि बढ्नेछ । अहिलेसम्म ती लाभग्राहीको अस्थायी आवास निर्माणका लागि २ अर्ब २६ करोड भन्दाबढी केन्द्रबाट जिल्लामा रकम पठाइसकेको छ । अझै लाभग्राही बढ्नसक्ने हुँदा अनुमानित लाभग्राहीका आधारमा ४ अर्ब ७५ करोड रुपैयाँ आवश्यक हुने देखिएकाले थप रकम मागका लागि पहल भइरहेको प्राधिकरणले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पले जाजरकोटसहित रूकुमपश्चिम, सल्यान, बझाङ र बाजुरामा क्षति पुर्‍याएको थियो । अहिले सो क्षेत्रका पीडितको अस्थायी आवास निर्माणको काम जारी रहेको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्