बुटवलमा ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’ सञ्चालनको तयारी !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अगाडि बढेका छन् । बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगर सभाको १४औँ अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै विभिन्न योजना अगाडि बढेको बताएका हुन् ।

उनले चालु आर्थिक वर्षमा मोतीपुर र बेलबासमा १५-१५ शय्याका अक्सिजन सुविधासहितका अस्पताल सञ्चालनमा ल्याउने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने जानकारी दिएका छन् । उनले अस्पताल स्थापना र स्तरवृद्धिले स्वास्थ्य उपचारलाई स्तरीय बनाउने र सोही ठाउँमा आवश्यक जनशक्ति उत्पादन गर्दा रोजगारी सिर्जना हुने जानकारी दिएका हुन् ।

त्यस्तै, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाका लागि सबै खालको खर्च नि:शुल्क गराउन ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’ सञ्चालनको तयारीमा रहेको उनको भनाइ छ । नगरप्रमुख पाण्डेले नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजारका दरले प्रदान गर्ने गरी सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा रहेको बताएका छन् ।

बैठकमा प्रमुख पाण्डेयले १८ वर्षमुनिका एचआइभी सङ्क्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक ३ हजार दिने, स्तनपान गराउने आमाहरूका लागि दुग्धवर्धक जडिबुटी दिने, नगरवासीलाई जटिल रोगको उपचारमा जनही १७ हजार दिइने राहत अनुदान कार्यक्रम निरन्तर रहेको र थप सुविधा दिने गरी योजना बनाएको जानकारी दिएका छन् । उनले शिक्षा क्षेत्रमा बुटवललाई सधैँ अग्रणी राख्नका लागि आवश्यकताअनुसार भौतिक पूर्वाधार र नयाँ कोर्षहरु सञ्चालनको तयारी भइरहेको बताएका छन् ।

उनले नगरलाई हरियाली बनाउन मुख्य सडक र भित्री सडक तथा अन्य खुला क्षेत्रमा वृक्षरोपण तथा ४५ दिने सरसफाइ अभियान सञ्चालन गरी नगरलाई सफा राख्न बुटवलवासीलाई प्रोत्साहन गरिएको जस्ता उपलब्धि प्रस्तुत गरेका थिए । गृहिणी महिलालाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन भएको, युवा इलम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन भएको जनाउँदै नगर प्रमुख पाण्डेयले महिला र युवालाई सीप र रोजगारसँग जोड्न सकिने जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्