रुकुमपश्चिमका २० हजार लाभग्राहीले प्राप्त गरे पहिलो किस्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रुकुमपश्चिममा भूकम्पले क्षति पुर्याएको करिब २० हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । जिल्लाका ६ वटै स्थायीय तहमा गरेर हालसम्म १९ हजार ७ सय १७ लाभग्राहीले पहिलो किस्ता बापतको २५ हजार रुपैयाँका दरले रकम प्राप्त गरेका हुन् ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६ सय ८ लाभग्राहीका लागि पहिलो किस्ता बापतको रकम पठाए पनि स्थायीय विपद् न्यूनीकरण कोषबाट १९ हजार ७ सय १७ लाभग्राहीले रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा ७ हजार लाभग्राहीले रकम प्राप्त गर्दा बाँफीकोट गाउँपालिकामा भने प्रमुख प्रशासकीय अधिकृत नहुँदा कुनै पनि लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्न सकेका छैनन् ।

त्यस्तै, चौरजहारी नगरपालिकामा ५ हजार ९ सय ३८, मुसिकोट नगरपालिकामा २ सय ११, सानीभेरी गाउँपालिकामा ४ हजार ४ सय ९९ र त्रिवेणी गाउँपालिकाका २ हजार ६९ लाभग्राहीले पहिलो किस्ताबापतको २५ हजार रुपैयाँका दरले ४९ करोड २९ लाख २५ हजार रुपैयाँ पाप्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ५९ करोड २ लाख रुपैयाँ रकम स्थानीय विपद् जोखिम न्यूनीकरण कोषमा पठाएको छ ।

जिल्ला विपद् व्यस्थापन कोषबाट पठाएको पहिलो किस्ता बापतको रकम अझै ३ हजार ९१ लाभग्राहीले पाउन बाँकी छ । जिल्लाभर हालसम्म २६ हजार ८ सय ५ लाभग्राहीको प्रहरी लगत सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्