देशभरका गुरुङ समुदायमा ‘तमु ल्होसार’ मनाउँदै….(फोटो-फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ ।

ल्होसार भनेको नयाँ वर्ष हो ।  गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ ।  प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ ।

यस्तै, साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ ।

यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् । गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारा पनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ । देशभरका गुरुङ समुदायमा खुशियालीका साथ ‘तमु ल्होसार’ मनाउँदैछन् । बाँकि फोटो फिचरमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्