उड्डयनमन्त्री किरातीद्धारा हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले युरोपेली नियोगले नेपालको हवाई सुरक्षामा लगाएको कालोसूचीका सम्बन्धमा उठाइएका प्रश्नको सम्बोधन गरी त्यसको अक्षरश:पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएका छन् । मुलुकको हवाई प्रशासनलाई व्यवस्थित गर्न स्थापित सो प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

उड्डयनमन्त्री किरातीले हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यात्रुमैत्री वातावरण बनाइ देशको उच्च छवि कायम गर्न आग्रह गरेका छन् । उनले सरकार-निजी क्षेत्रको साझेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने जानकारी दिँदै सरकारको पर्यटन प्रवद्र्धन र विकासको नीति र लक्ष्यलाई ध्यानमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

सो अवसरमा पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले प्राधिकरणले २५ वर्षको यात्राबाट पाठ सिक्दै हातेमालो गरेर भविष्यका योजनामा केन्द्रित हुन आग्रह गरेका छन् । मन्त्रालयका सचिव डा दीपक काफ्लेले वार्षिक नीति र कार्यक्रममलाई दृढतापूर्वक कार्यान्वयन गरी लक्ष्य हासिल गर्नुपर्ने बताएका छन् ।

यस्तै, कार्यक्रममा नेपालका प्रथम ‘एयर ट्राफिक कन्ट्रोलर’ नारायणबहादुर सिंहलाई मरणोपरान्त सम्मान प्रदान गरेका छन् । १ लाख रुपैयाँ राशिको यस वर्षको ‘प्राधिकरण सेवा पुरस्कार’ निर्देशक राजु श्रेष्ठलाई प्रदान गरेका हुन् । २० हजार रुपैयाँ राशिको उत्कृष्ट कर्मचारी पुरस्कार उपनिर्देशक प्रभा शर्मा, प्रबन्धक ऋषि पौडेल, दिप्ता ढुङ्गाना पौडेल, द्वारिकाप्रसाद भट्टराई र विपिन बज्राचार्यलाई प्रदान गरेका छन् ।

उक्त समारोहमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाइ सुरक्षाका लागि प्राधिकरणले सक्दो प्रयास गरिरहेको जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्