‘खेलको विकासमा पत्रकारको भूमिका’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले कर्णालीको खेल क्षेत्रको उत्थानमा पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशद्वारा (आज) बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘खेलकुद पत्रकारितासम्बन्धी दुई दिने तालिम’को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कर्णाली प्रदेश खेल क्षेत्रको प्रचुर सम्भावनाको भूमि रहेको जानकारी दिएका छन् । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने जनाउँदै उनले यसको तयारीमा प्रदेश सरकार लागिपरेको जनाएका छन् । मन्त्री पोखरेलले भने, ‘यो तालिमबाट यहाँ खेलिने रैथानेलगायतका विभिन्न खेल क्षेत्रको सूचना सङ्कलन र त्यसबाट समाजमा पार्ने सकरात्मक प्रभावका समाचार सम्प्रेषणमा पत्रकारको सक्षमता वृद्धि हुनेछ ।’ उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि त्यहाँका दशवटै जिल्लामा भौतिक संरचना निर्माणको तयारी भइरहेको बताएका छन् ।

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले पत्रकार महासङ्घले सञ्चालन गरेको खेलकुद पत्रकारिताले विधागत पत्रकारितामा सहयोग पुर्याउने टिप्पणी गरेका छन् । तालिमले खेल क्षेत्रसँग सम्बद्ध रहेर पत्रकारको सीप र दक्षता वृद्धि हुने उल्लेख गर्दै उनले १०औँ राष्ट्रिय खेल प्रतियोगिताको आयोजक प्रदेश कर्णाली भएकाले प्रदेश रङ्गशालाको निर्माणकार्य तीव्ररूपमा अगाडि बढेको जनाएका छन् ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले पछिल्लो समयमा हिमाली जिल्लामा पनि खेल क्षेत्र विस्तार भएकाले भूगोल केन्द्रित भएर सरकारले बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । तालिममा प्रशिक्षक भानुभक्त अधिकारीले प्रदेशका खेल क्षेत्रका सवाल, चुनौती, प्रकाश तिमिल्सिनाले खेल रिपोर्टिङ र त्यसका प्रकार तथा पवन आचार्यले खेल रिपोर्टिङको आधारभूत सिद्धान्त, लेखन विधि,अन्तर्वार्ता सीप तथा रणनीतिका विषयमा प्रशिक्षण दिने महासङ्घका प्रदेश समिति अध्यक्ष देवीराम देवकोटाले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्