भरतपुर-देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । पवित्र धार्मिकस्थल देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनमा आउन लागेको हो ।

विसं २०७१ कात्तिकमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको पुल निर्माणका क्रममा पटक-पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको थियो । सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार हाल पुल निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको छ । उनले भने, ‘अहिले निर्माणको काम लगभग पूरा भएको छ । अप्रोच रोड र रेलिङको केही काम बाँकी छ । केही दिनमा पूर्ण तयारीका साथ पुल सञ्चालन गर्न मिल्ने हुन्छ ।’

माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालन हुनुपर्ने स्थानीय र सम्बन्धित सरोकारवालाको माग भएको हुँदा यही महिनाको अन्तिम सातामा सञ्चालन गर्ने तयारी गरिरहेको उनले बताएका छन् । सूचना अधिकारीले भने, ‘दुवैतिरको बाटो ‘क्लियर’ छ, अहिले पनि पैदल र मोटरसाइकल चलाउन मिल्ने भएको छ । सुरक्षाका लागि अप्रोच स्ल्याब र रेलिङ हाल्दै गरेको अवस्था छ । केही खाल्डा परेको स्थानमा मिलाउने काम भइरहेको छ । यो एक-दुई दिनमा सकिने काम हो ।’

उनले बीचमा बजेटका कारणले काममा केही ढिला हुन पुगेको जनाएका छन् । केही दिन अघि मात्र गत आर्थिक वर्षको २ करोड ९० लाख रुपैयाँ रकम भुक्तानी भएको हुँदा बजेटमा सहजता मिलेको उनको भनाइ छ । सुचना अधिकारीले भने, ‘अब ठेकेदारलाई २ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । पुल निर्माणका लागि संशोधित लागत २१ करोड ५० लाख रुपैयाँ हो । सबै काम सम्पन्न गर्दा डेढ करोड रुपैयाँ बजेट थप गर्नुपर्ने देखिन्छ ।’ ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्नेगरी इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले पुल निर्माणको जिम्मा लिएको थियो ।

निर्माण भइरहेको समयमा विसं २०७७ चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो । दोस्रोपटक २०७९ साल वैशाखमा भत्किएको थियो । तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी २ सय २० मिटर लम्बाइको पुल बनेको शाहले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्