प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले कोशी प्रदेशलाई फाइनल खेलमा ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।

विजेता एपीएफ क्लबले ५ लाख रुपैया तथा उपविजेता कोशीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै एपीएफ क्लबले कोशी प्रदेशसामु जितका लागि १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोशीले २० ओभर खेल्दै चार विकेटको क्षतिमा १ सय ३ रन मात्र बनाउन सक्यो । यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले सात विकेटको क्षतिमा १ सय १४ रन बनाएको थियो ।

यस्तै, एपीएफका लागि इन्दु बर्माले अद्र्धशतकीय पारी खेलिन् । उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन् । सो क्रममा बर्माले छ चौका र एक छक्का प्रहार गरिन् । ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाइन् । बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक गरिन् । उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन् । पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन् । एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक-एक विकेट लिइन् ।

कोशी प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा कप्तान रुबिना क्षेत्रीले अद्र्धशकतीय पारी खेलिन् । उनले ६२ रन बनाइन् । क्षेत्रीले ५८ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरिन् । यस्तै काजल श्रेष्ठले २९ बलमा २२ रन बनाइन् । बलिङतर्फ एपीएफ क्लबका लागि करुणा भण्डारी र कप्तान सीता रानामगरले एक-एक विकेट लिइन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्