रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गर्नु हुँदैन: अर्थमन्त्री महत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गर्नु नहुने धारणा राखेका छन् । भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिको संयुक्त आयोजनामा बुधबार ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुन:निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा मन्तव्य राख्दै उनले यस्तो धारणा राखेका हुन् ।

अर्थमन्त्री डा.महतले नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी पुन:निर्माणका काम अघि बढाउनुपर्ने बताएका छन् । उनले विपद् व्यवस्थापनमा आवश्यक बजेट उपलब्ध गराउनु नेपाल सरकारको जिम्मेवारी हो भन्दै स्रोत र साधन जुटाएर खर्चको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । महतले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहमा पुर्‍याउनुपर्ने धारणा राख्दै बजेटको सीमाभित्र रहेर काम गर्नुपरेको भए पनि हामी व्यवस्थापन गर्ने प्रयत्न गर्ने प्रष्ट पारेका छन् ।

उनले पुन:निर्माणका लागि बजेट नपुग भएको खण्डमा मित्रराष्ट्रका प्रतिनिधिसँग पनि समन्वय गरेर कुन रुपमा सहयोग आउन सक्छ भन्ने केही दिनमै निर्क्यौल निकाल्ने जानकारी गराएका छन् । अब पुन:निर्माणका काम गर्दा ठूलो भूकम्प आउँदा पनि थेग्न सक्ने भवन निर्माण गर्नुपर्नेमा जोड दिँदै सरकारले यसका लागि वडा तहसम्म दक्ष प्राविधिकको व्यवस्थापन गर्ने अर्थमन्त्री महतको प्रतिबद्धता छ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले जनजीवनलाई जोड्ने तथा रोजगारी र सीपलाई उठाउने गरी पुनः निर्माणका काम अगाडि बढाउन तीनै तहका सरकारहरुबीच समन्वय र सहकार्य हुनुपर्ने धारणा राखेका छन् ।

उनले भूकम्प प्रभावित क्षेत्रमा एकीकृत बस्ती निर्माणमा जोड दिनुपर्ने बताएका छन् । वातावरण संरक्षण सहितको प्रविधिमैत्री पुन:निर्माणका लागि जोड दिँदै विपद् थेग्न सक्ने गरी पुन:निर्माण अगाडि बढाउनुपर्ने धारणा उनको थियो । भूकम्प प्रभावित जिल्लाको भू-भागलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर प्राथामिकताका साथ त्यहाँको जनजीवनलाई सहज बनाउने गरी पुन:निर्माणका काम तीव्र गतिमा अगाडि बढाउनुपर्ने कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्