सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढ्दो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि त्यहाँका व्यवसायी उत्साहित भएका छन् ।

सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताएका छन् । चीन र भारतसँगै तेस्रो मुलुकबाट पनि सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा ३ लाख पर्यटक सौराहा भित्रिएकोमा सन् २०२४ मा ३ लाख ५० हजार पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गिरीको भनाइ थियो । सौराहामा पर्यटक बढाउन प्रचारप्रसार अभियान लिएर देश-विदेश जाने योजना रहेको बताउँदै उनले ‘घुमौँ सौराहा अभियान’ लिएर चीन र भारतका विभिन्न ठाउँ र पश्चिम नेपाल जाने योजना रहेको जानकारी दिएका छन् ।

नेपालको सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको सङ्ख्या बढ्न नसकेको र हवाई यातायात पनि महँगो भएको अध्यक्ष गिरीको गुनासो थियो । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष दीपक भट्टराईले सौराहामा चिनियाँ र भारतीय पर्यटक बढेपछि उत्साह थपिएको बताएका छन् । सौराहाका रेस्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवानका अध्यक्ष नरेश गिरीले बताएका छन् । उनका अनुसार सौराहामा आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य छ । त्यहाँ झण्डै २ सय रेष्टुरेन्ट छन् ।

सौराहामा मात्र साना-ठूला गरी १ सय ४१ होटल छन् भने पश्चिम चितवनको जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । दैनिक ६ हजार ४ सय २६ पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक बनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जंगल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहेको देखिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्