लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका-८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो । ३ हजार ९ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिएका छन् ।

नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा विद्यालय सञ्चालन गरिएको उनको भनाइ छ । प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताएका छन् । गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पनि प्याराग्लाइडिङ विद्यालय महत्वपूर्ण हुने उनको भनाइ छ ।

यस्तै, गाउँपालिकामा प्याराग्लाइडिङ विद्यालय स्थानीयका लागिसमेत नयाँ अवसर भएको अध्यक्ष अधिकारीले बताएका छन् । बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले नौ वर्षदेखि स्याङजाको भीरकोट नगरपालिका-५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ विद्यालय सञ्चालन गर्दै आएको छ । प्याराग्लाइडिङ विद्यालयसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् ।

रेडबुलको ‘एड्भेन्चर’ टोली हालैमात्र नेपाल आएर विद्यालयको अवलोकन गरेको थियो । त्यसपश्चात् उनीहरूले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको सञ्चालक सुनुवारले जानकारी दिएका छन् । नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक ‘हाइ अल्टिच्युड’ प्याराग्लाइडिङका लागि आउने नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले बताएका छन् । सामान्य प्याराग्लाइडिङ विश्वको धेरै ठाउँमा उपलब्ध रहेको भए पनि हाइ अल्टिच्युड भने नभएको उनको भनाइ छ ।

नेपालमा हाइ अल्टिच्युड प्याराग्लाइडिङको अत्यधिक सम्भावना रहेकाले उक्त विद्यालय महत्वपूर्ण हुने भट्टराईको विश्वास छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्