बालिकामाथि पटकपटक बलात्कार गरेको अभियोगमा ५५ वर्षीय मगर पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । १० वर्षीया बालिकामाथि पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका-१० का ५५ वर्षीय पदम मगरलाई प्रहरीले नाबालिकालाई बलात्कार गरेको अभियोगमा बुधबार राति घरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार धनकुटा घर भएकी बालिकाका अभिभावक मगरकै घरमा डेरा बस्थे । बालिकाका बुबा रोजगारीका सिलसिलामा विदेशमा छन् । बालिकाको आमा पनि दोस्रो बिहे गरेर गएपछि बालिका हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । यसरी अभिभावकसँग आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस्तै, मगरले पछिल्लो पटक मंगलबार बालिकालाई बलात्कार गरेको खुलेको मोरङ डीएसपी दाहालले बताएका छन् । दाहालले भने, ‘अभिभावक कोही पनि नभएको अवस्थामा शौचालय नजिकको खाली जग्गामा लगेर बलात्कार गरेको पाइएको छ । मुख थुनेर बोल्नसमेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको पत्ता लागेको छ।’ मगरले बुधबार दिउँसो बालिकालाई हातमा समातेर तान्दै गरेको हजुरआमाले देखेपछि यो घटना बाहिर आएको हो ।

डीएसपी दाहालले भने, ‘मगरले हातमा समातेर तान्दै गर्दा बालिका चिच्याइछन् । त्यतिबेलै हजुरआमाले पनि देखेपछि घटना बाहिर आएको हो ।’ यसअघि पनि पटकपटक बलात्कार गरेको बालिकाले बताएकी छन् । डर र त्रासकाकारण बालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाउन नसकेको बालिकाको भनाइ छ । बारम्बार बलात्कारको पीडामा परेकै कारण नाबालिगमा विभिन्न स्वास्थ्य समस्या देखिएको प्रहरी भनाइ छ । निन्द्रामा चिच्याउने, डराउने, अरुबेला पनि तर्सिने समस्या बालिकामा छ । उनलाई अहिले उपचारका लागि अस्पतालमा राखिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्