काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाइएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सचिवालयले सोमबार प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएको हो ।
उनी महानगरको कार्यपालिकाले गरेको निर्णय हेरफेर गरि प्रमाणीकरण गरेको आरोपमा हाल बिदामा छन् । नगर कार्यपालिकाको पुषमा बसेको बैठकले वडा नम्बर १९ मा स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ५ जना करारका कर्मचारीलाई निरन्तरता दिने विषयमा गरेको निर्णयमा हेरफेर गरेको भन्दै उनीहरुमाथि छानबिन भइरहेको छ । उक्त निर्णयमा वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले आफ्नी छोरीलाई करारमा राख्नका लागि नाम राखेको र प्रमुख प्रशासकीय अधिकृतले त्यसलाई प्रमाणीकरण गरेका थिए ।
सो घटनाको विषयमा छानबिन भइरहेकाले छानबिन नसकिँदासम्म प्रमुख प्रशासकिय अधिकृत बिदामा रहने र सो अवधिमा उनको कार्यकक्ष बन्द हुने भएकाले ताला लगाइएको मेयर शाहको सचिवालयले जनाएको छ । यस घटनाको छानबिनका लागि समिति गठन गरिएको छ । सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा गठन भएको समितिमा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल रहेका छन् ।