कोरोनाकाकारण पश्चिमीनाकाबाट जान पाएनन् विदेशी पर्यटक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि त्यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको बताएका छन् ।

सन् २०२३ मा गड्डाचौकी नाकाबाट ९ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यहाँबाट भित्रिनेहरू प्रायः भैरहवाको नाकाबाट भारत जाने गरेका उनको भनाइ थियो । नासु भट्टले भने, ‘यहाँबाट फ्रान्स, नेदरल्याण्ड, अमेरिका, बेलायत र जर्मनलगायत मुलुकका नागरिक नेपाल भ्रमणका लागि बढी भित्रिने गरेका छन् । दोस्रो भेरियन्टपछि पर्यटकको फिर्तीका लागि व्यवस्था मिलाउन माथिल्लो निकायमा पत्राचार गर्नाका साथै स्थानीयस्तरबाट पहल गरिएको थियो । तर, अझै नाका भने सहज गरिएको छैन ।’

त्यहाँबाट नेपाल प्रवेश गर्ने पर्यटक लुम्बिनी, पोखरा र बर्दियालगायत स्थानमा जान बढी रुचाउने गरेको उनले जानकारी दिएका छन् । नासु भट्टले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत यहाँका पर्यटकीयस्थलका बारेमा नाकामा कुनै खाले प्रचार नै भएन । केही दिनअघि मात्रै शुक्लाफाँटाको एउटा बोर्ड राखिएको छ ।’ त्यसैगरी केही समयअघि गृह जिल्ला कञ्चनपुर पुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसित पनि पर्यटकका लागि नाका सहज गरिदिनेबारे कञ्चनपुर उद्योग वाणिज्य सङ्घलगायत त्यहाँका व्यापारी र व्यवसायीले माग गरेका थिए ।

जिल्ला उद्योग वाणिज्य सङ्घका महासचिव खगेश्वरप्रसाद बोहराले नाकाबाट पर्यटक जाने विषयमा मन्त्रीस्तरमा वाणिज्य सङ्घले पहल गरे पनि सुनुवाइ नभएको बताएका छन् । उनले भने, ‘पर्यटकलाई नेपाल भित्रिँदा पनि रु २५ हजारभन्दा बढी रकम ल्याउन पनि नदिएको गुनासो छ । त्यसका लागि पनि हामीले पहल गरिदिन आग्रह गर्दै आएको छौँ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्