चामलको पीठोबाट बनाइने ‘भक्का’ पूर्वी तराईमा लोकप्रिय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो । चामलको पीठोबाट बनाइने भक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । यो परिकार पूर्वी तराईमा लोकप्रिय बनिसकेको छ ।

पुस-माघको चिसो मौसममा राजवंशी महिला हुरहुरी बाफ उड्ने तातो खाजाका रुपमा भक्का बनाउने गर्दछन् । यसको स्वादले पहाडबाट बसाइँ सरेर आएका तराईका अरू समुदायलाई समेत आकर्षित गरेको छ । राजवंशी मात्र होइन, मेचे, धिमाल, ताजपुरिया र थारु महिला पनि भक्का बनाउँछन् । झापाको ग्रामीण बस्तीमा सानो माटाको हण्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भक्का पकाउने र बेच्ने गर्छन् । सहरका गल्लीमा पनि भक्का पसल बढ्दै गएका छन् । ठूला तारे होटलदेखि साना चिया पसलमा खाजाका रुपमा भक्काको बजार दिनानुदिन बढ्दै गएको छ ।

साहित्यकार पवन राजवंशी भन्छन्, ‘भक्का राजवंशी समुदायको मौलिक परिकार हो । पानीको बाफमा पकाइने र कुनै प्रकारको मिसावट नहुने भएकाले भक्का खानु स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ ।’ सयौँ वर्षअघि पूर्वी तराईको जङ्गलबीचको उब्जाउ जमिनमा राजवंशी समुदायको बसोबास भएको मानिन्छ । कहिलेदेखि भक्काको चलन सुरु भयो भन्ने यकिन नभए पनि राजवंशी समुदायको थातथलो विस्तारसँगै रैथाने परिकारका रुपमा भक्का खाने चलन झापा र मोरङमा सुरु भएको मानिन्छ ।

भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भक्का झनै स्वादिलो हुने स्थानीय आत्माराम राजवंशी बताएका छन् । माछासँग पनि भक्का खाने गरिएको उनको भनाइ छ । सात वर्षदेखि हरेक वर्ष पुस २९ गते झापामा भक्का दिवस मनाउन थालिएको छ । भक्काको पहिचान स्थापित गर्न र पर्यटन प्रर्वधन गर्न दिवसको अवधारणा अघि सारिएको राजवंशी भाषा विकास समितिका अध्यक्ष अभय राजवंशीले जानकारी दिएका छन् । यसपालि भद्रपुरको सिटी गार्डेन र विर्तामोडको डोमालाल रङ्गशालामा भक्का दिवस कार्यक्रमको आयोजना गरिएको छ । त्यहाँ राजवंशी समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

विर्तामोडको कार्यक्रममा १ सय ५० राजवंशी महिलाले २ हजार किलोग्राम चामलको पीठोबाट भक्का बनाउने भएका छन् । ख्यातिप्राप्त मास्टरसेफ सन्तोष राजवंशीलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको छ । यही पुस २९ गते नै भद्रपुरमा राजवंशी समाज विकास समितिले कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष उत्तम राजवंशीले बताएका छन् । कार्यक्रममा भारतीय कलाकारको समेत सहभागिता रहने उनले जानकारी दिएका छन् । राजवंशी समुदायको मौलिक खानेकुरा भएकाले उनीहरु नै भक्काको प्रचारप्रसारमा जुटेका छन् । भक्का दिवस पनि राजवंशी समुदायकै अग्रसरतामा मनाउन थालिएको हो ।

झापाको कचनकबल गाउँपालिकाले पुस २९ गते भक्का दिवसका अवसरमा बिदा दिने निर्णय गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्