३ सय ४५ हेक्टर क्षेत्रफलमा २० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बागलुङमा यस वर्ष २० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । कूल ३ सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा २० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको हो ।

कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष ३ हजार ९ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष समग्र बागलुङभर ६५ मेट्रिकटन सुन्तला कम फलेको सर्वेक्षणले देखाएको छ । कृषि ज्ञानकेन्द्र र स्थानीय पालिकाका कृषि शाखाबाट सुन्तला उत्पादन हुने क्षेत्रमा गरिएको सर्वेक्षणले जिल्लामा अहिले २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत कुमार पुनले बताएका छन् ।

यस्तै, बागलुङको बिहुँ, सिगाना, सकुर्वा, बिनामारे, हरिचौर, बिरकोट, भकुण्डे र तित्याङ लगायतका स्थानमा बढी मात्रामा सुन्तला फल्ने गरेको पाइएको छ । उत्पादितमध्ये ६० प्रतिशत सुन्तला बिक्री भइसकेको छ भने अन्य सुन्तला बिक्री हुन बाँकी रहेको ज्ञान केन्द्रको तथ्यांकले जनाइएको छ । सुन्तला उत्पादनमा कमी आउनुमा व्यवस्थापकीय कमजोरी, मल नपुगेको र औशा किरा व्यवस्थापन गर्न नसकिएको अध्ययनका क्रममा पाइएको पुनले जानकारी दिएका छन् । बागलुङको सुन्तला चितवन, काठमाडौँ, पोखरा, धादिङलगायत ठाउँसम्म पुग्ने गरेको सुन्तला किसान शिवकुमार खड्काले बताएका छन् ।

बागलुङको सिगानाका अगुवा किसानले सुन्तलाको मूल्य दोब्बर बनाउन भण्डारण गर्दै आएका छन् । खड्काका अनुसार पछिल्लो पाँच वर्षयता सिगानामा ३० हजार सुन्तलाका नयाँ बोट थपिएका छन् । पाँच वर्षपछि सिगाना गाउँबाट मात्रै ५ करोड रुपैयाँको सुन्तला बिक्री हुने उनले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्