प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो ।

समुद्री सतहबाट १ सय ५३ मिटर उचाइमा रहेको यो स्थान हतुवागढी-९ हसनपुरमा रहेको छ । दूधकोशी र अरुण नदीको सङ्गमस्थलमा रहेको माइबेनीमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । दशक अघिसम्म त्यहाँ भव्य मेला लाग्ने गरेको भए पनि पछिल्लो समय मेला लाग्न छाडेको स्थानीय ७० वर्षीय अशोक राईले बताएका छन् । त्यहाँ कात्तिक पूर्णिमा र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ । माइबेनीमा दर्शन गर्न तथा मेला भर्न भोजपुर, उदयपुर, धनकुटालगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् ।

राईले भने, ‘यो पूर्वको एक प्रसिद्ध धार्मिकस्थल हो । यसको निकै ठूलो धार्मिक महत्व छ । यहाँ दर्शन गर्नका लागि देशका विभिन्न ठाउँबाट आउने गर्दथे । तर, पछिल्लो समय यो स्थान ओझेलमा परेको छ ।’ खासगरी मानिस माइबेनीको दर्शनसँगै नदी पूजा गर्नका लागि त्यहाँ आउने गरेको राईले बताएका छन् । माइबेनीको विकास तथा संरक्षणका लागि ध्यान दिँदै आएको हतुवागढी गाउँपालिकाले जनाएको छ । त्यहाँ पुग्नका लागि कोप्चेबाट अप्ठ्यारो ठाउँमा पदमार्ग निर्माण तथा मन्दिरको संरक्षणसँगै घेराबारा गरिएको छ ।

माइबेनी क्षेत्रको बृहत्तररूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिएका छन् । यसलाई गाउँपालिकासँगै जिल्लाको मुख्य धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना छ । माइबेनीबाट किरातको आस्थाको केन्द्र खुवालुङ, अरुण, दूधकोशी र तमोर नदीको सङ्गमस्थल त्रिवेनी तथा बराहक्षेत्र नजिकै पर्ने भएकाले यसको बृहत्तर विकासमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ । यो क्षेत्रलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने योजना छ । हिउँदको समयमा अरुण नदीमा जेटबोट चल्ने भएकाले त्यहाँसम्म पुग्न सहज भए पनि वर्षातको समयमा भने आवतजावतमा समस्या छ ।

यसको नजिकै दूधकोशीपारि उदयपुरको वेलका नगरपालिका-७ र अरुण नदीपारि धनकुटाको सहिदभूमि-१ पर्छ । यो तीन जिल्लाको सङ्गमस्थलका रुपमा रहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्