स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बागलुङमा विसं २०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमाको महत्व बुझाउन मुस्किल थियो । मुस्किलले एक-दुई परिवार बीमामा आबद्ध भए पनि अरूले भने बेवास्ता गरेका थिए । जिल्लामा स्वास्थ्य बीमा सुरु भएको सात वर्ष बितिसक्दा भने यसमा आबद्ध नागरिकको सङ्ख्या क्रमश:उकालो लागेको छ ।

घरघरमा पुगेर स्वास्थ्य बीमामा आबद्ध हुन नमानेका नागरिकले अहिले बीमा गर्न आफैँ बोलाउन थालेका छन् । जिल्लामा पछिल्लो समय स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण बढ्दै गएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७२-७३ मा स्वास्थ्य बीमा सुरु गर्दा १ हजार ६ सय ८१ मात्रै आबद्ध भएका थिए । तर, पछिल्लो सात वर्षमा १ लाख ९ हजार ५ सय ८१ जना आबद्ध भइसकेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी नारायणप्रसाद पौडेलले जानकारी दिएका छन् ।

स्वास्थ्य बीमा गर्नेमध्ये ५७ हजार ९ सय ९५ महिला र ५१ हजार ५ सय ८६ पुरुष छन् । उनका अनुसार सबैभन्दा बढी स्वास्थ्य बीमामा आबद्ध हुने बागलुङ नगरपालिकाका नागरिक छन् । नयाँ स्वास्थ्य बीमाका सदस्य थपिँदै जाने र केही नवीकरण नगर्ने नागरिकको सङ्ख्या घट्दै गए पनि स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै गएको तथ्यांकले देखाएको छ । आबद्ध भएका बिरामीले एकपटक रिफर लगेमा पुन दोहोर्‍याउन नपर्ने भएकाले बिरामीलाई सहज हुने उनले बताएका छन् । सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच पुगोस् भन्ने हेतुका साथ ल्याएको सो कार्यक्रमले जिल्लामा आर्थिकरूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधोपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

यस्तै, उपचारका लागि कम मात्रमा धवलागिरि अस्पतालमा आउने बिरामीको सङ्ख्या यो कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्या तेब्बरले वृद्धि भएको छ । अहिले यस अस्पतालमा सिटिस्क्यान उपकरणसमेत भित्रिएपछि बिरामीलाई राहत भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविरञ्जन प्रधानले बताएका छन् । अस्पतालमा थपिएको सेवाका कारण नागरिक स्वास्थ्य बीमामा थप आकर्षित भएका छन् । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक ३ हजार ५ सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य सात सयका दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा १ लाखसम्म उपचार खर्च नि:शुल्क हुने स्वास्थ्य बीमाको नीतिमा उल्लेख छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्