झापा जिल्लाका २ पालिकामा दादुराको प्रकोप

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पन्ध्र वटा पालिका रहेको झापा जिल्लाका दुई पालिकामा दादुराको प्रकोप देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले झापा गाउँपालिका र विर्तामोड नगरपालिकामा दादुराको प्रकोप देखिएको जनाएका हुन् ।

उनले गत वर्ष बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिबाट फैलिएको दादुराको प्रकोप यस वर्ष झापासम्म आइपुगेको बताएका छन् । जिल्लामा दुई हप्ताको अन्तरालमा सात जनामा दादुराको सङ्क्रमण देखिएको उनले जनाएका छन् । उनका अनुसार झापा गाउँपालिकामा छ जना र बिर्तामोड नगरपालिकामा एक जनामा दादुरा देखिएको छ । झापा गाउँपालिका-७ मदरगाँछका दुई जना सन्थाल, तीन जना थापा र एक जना बराइली थरका व्यक्तिमा दादुराको सङ्क्रमण देखिएको उनले बताएका छन् । उनले सात वर्षदेखि ३७ वर्ष उमेर समूहका व्यक्ति दादुराबाट सङ्क्रमित भएको बताएका छन् । उनीहरुको शरणामती हेल्थपोस्टमा रक्त नमुना परीक्षण गर्दा दादुरा देखिएको हो ।

यस्तै, रक्त परीक्षणमा दादुराको प्रकोप एकै घरका तीन जनासम्ममा देखा परेको थियो । यसैगरी विर्तामोड नगरपालिका-३ की पाँच वर्षीया बालिकामा पनि दादुराको सङ्क्रमण देखा परेको छ । उपचारका लागि दुई दिनअघि बिर्तामोड नगर अस्पताल ल्याइकी बालिकाको रगत परीक्षण गर्दा दादुरा पुष्टि भएको थियो । हाल बालिकालाई आइसोलेसनमा राखिएको उनले जानकारी दिए । सरकारले सन् २०२३ सम्ममा नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको थियो । तर, हरेक वर्ष मुलुकका विभिन्न जिल्लामा देखिने दादुरा प्रकोपका कारण लक्ष्यप्राप्ति हुन नसकेको बताइएको छ ।

सरकारले नौ महिनादेखि १५ महिनासम्मका बालबालिकालाई नियमित खोप दिइरहेको छ । तर, झापा गाउँपालिकामा मात्र सात वर्षको अवधिमा १ हजार ७ सय ८७ जनाले नियमित खोप नलगाएको तथ्यांक फेला परेको अधिकृत पोखरेलले बताएका छन् । उनले गत साउन, भदौमा कोशीको मोरङ र सुनसरी जिल्लामासमेत दादुरा देखिएको बताएका छन् । दादुरा सङ्क्रमितको थुक, खकारबाटसमेत अर्को व्यक्तिमा सर्ने हुँदा झापा गाउँपालिकाका जनप्रतिनिधिलाई नै राखेर दादुरा रोगको लक्षण, यसको जलिटता, अन्य असर र समुदायमा पार्ने प्रभावका बारेमासमेत जानकारी दिएको बताए । दादुरा प्राय:पाँच वर्षमुनिका बालबालिकामा लाग्छ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ ।

यो रोग खोक्दा वा हाच्छ्यूँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका ससाना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने गर्दछन् । अधिकृत पोखरेलले आफ्नो घर वा छिमेकमा ज्वरो आएको बच्चा छ भने तत्काल रक्त परीक्षण गर्न आग्रह गरेका छन् । सङ्क्रमित अध्ययन गर्ने विद्यालयका सबै विद्यार्थीको रगत परीक्षण गरिरहेको उनको भनाइ छ ।

उनले दादुराको उपचार भनेको दादुरा आउन नदिने खोपमात्र भएका कारण सरकारले फागुनदेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिरहेको पनि बताएका छन् । नेपालमा दादुराको खोप अभियान सन् २००४ देखि सुरु भएको हो । धेरैले पहिलो डोज लगाएपछि दोस्रो डोज नलगाएकाले पनि यो रोग निवारणमा चुनौती थपिएको उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्