सगरमाथा क्षेत्रमा घट्दैछ पर्यटकको चहलपहल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकोमा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ ।

उनले भने, ‘पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन् । खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन ।’ सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्कअनुसार यस वर्षको गत पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ३० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पुसमा १ हजार ९ सय २० जना सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु पुगेका थिए । यस वर्ष १ हजार ३ सय २९ जनालेमात्रै सगरमाथा क्षेत्रको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मनोजकुमार मण्डलले जानकारी दिएका छन् ।

उनका अनुसार गत वर्ष पुसमा ४ सय ५५ जना नेपाली र १ हजार ४ सय ६५ विदेशी नागरिक भ्रमणका लागि खुम्बु पुगेका थिए । यस वर्षको सोही अवधिमा १ सय २० नेपाली र १ हजार २ सय ९ विदेशी खुम्बु पुगेको कार्यालयको तथ्याङ्क छ । विदेशी तथा स्वदेशी पर्यटकको अत्यधिक चाप हुने सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बुक्षेत्र चिसो बढेसँगै एक्लिएको छ । यस क्षेत्रमा यतिखेर चिसो अत्यधिक रहेकाले पर्यटक आवागमन न्यून भएसँगै सुनसान बनेको निकुञ्जले जनाएको छ ।

यस्तै, त्यहाँ वर्षको छ महिना पर्यटकीय याम हुने र छ महिना बेमौसम हुने गर्दछ । गत फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय याम मानिन्छ भने त्यसबाहेकका समयलाई बेमौसम मानिन्छ । याममा दैनिक ९ सयदेखि १ हजारसम्म पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले मुस्किलले पाँच-सातजना पर्यटकमात्रै भ्रमणका लागि आउने गरेको निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुका सूचना अधिकारी मण्डलले जानकारी दिएका छन् ।

विदेशी तथा स्वदेशी पर्यटकको आर्कषण अधिक हुँदा भ्याइनभ्याई हुने त्यहाँका पर्यटन व्यवसायीसमेत यतिखेर फुर्सदिला बनेको खुम्बु पासाङल्हामु गाउँपालिका-४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताएका छन् । स्थानीय बासिन्दासमेत चिसो छल्न अन्यत्र जाँदा खुम्बु सुनसान बनेको उनको भनाइ छ । उच्च हिमाली क्षेत्र खुम्बुका नागरिकको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटन व्यवसाय हो । त्यहाँ अन्य अन्नबाली उब्जाउ नहुने भएकाले सिजनमा पर्यटन व्यवसाय गर्ने र अफसिजनमा घुमफिर तथा रमाइलो गर्ने त्यहाँका नागरिकको बाध्यता हो ।

इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजनकुमारी बर्देवाका अनुसार सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङलगायतका क्षेत्र पनि चिसो सुरु भएसँगै प्रायः सुनसान छन् । यो समयमा आफ्नो कार्यालयमा सेवाग्राही नगन्य मात्रामा आउने गरेको उनको भनाइ छ ।

निकुञ्जका कर्मचारीलाई यतिखेर फुर्सद 

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका कर्मचारीलाई यतिखेर फुर्सद मिलेको छ । पर्यकीय याममा एकैपटक धेरै पर्यटक निकुञ्ज क्षेत्र प्रवेश गर्दा ‘इन्ट्री’ गराउन भ्याइनभ्याई हुने कर्मचारीलाई यतिखेर भने फुर्सद मिलेको निकुञ्जका सूचना अधिकारी मण्डलले बताएका छन् ।

उनका अनुसार मुख्य याममा दैनिक नौ सय जनासम्म स्वदेशी तथा विदेशी भ्रमणकर्ता निकुञ्ज प्रवेश गर्दा बिहान उज्यालो भएदेखि राति अबेरसम्म इन्ट्री गराउनमा व्यस्त हुने जाँचचौकीका कर्मचारीलाई अहिले फुर्सद मिलेको छ । अहिले दैनिक मुस्किलले पाँच-सात जनासम्म पर्यटक आउने गरेको उनको भनाइ छ । याममा धेरै पर्यटक आउने भएकाले जाँचचौकीका कर्मचारीको खानेबस्ने ठेगान नै नहुने हुन्छ भने अहिले कार्यालयको नियमित कामसँगै चिसोमा घाम तापेर समय बिताउने गरेको उनको भनाइ छ । सगरमाथा राष्ट्रिय निकुञ्जमा मुख्य कार्यालय नाम्चेबाहेक १० चौकी छन् । जसमा दुईवटा रेञ्जपोष्ट रहेको कार्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्