ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि ५ हजार जरिवाना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारवाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट-९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारवाही गरेको हो ।

होटलमा बिक्रीका लागि राखिएको खाद्य सामग्री सडेको अवस्थामा फेला परेपछि कारवाही स्वरुप होटललाई रु ५ हजार जरिवाना गरिएको गैँडाकोट नगरका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिएका छन् । मुनाल होटलले पकाएको चियामा टमाटर भेटिएको, सरसफाइमा ध्यान नदिएको, खानेकुरा राख्दासमेत खाद्य गुणस्तरमा ध्यान नदिइएको तथा उचित व्यवस्थापन नगरेको पाइएपछि कारवाही गरिएको उनको भनाइ छ ।

गैँडाकोटको सडक किनारमा सञ्चालित होटलले अस्वस्थ्यकर खाना खुवाएको जन गुनासो आएपछि गैँडाकोटको कांग्रेसचोक, थुम्सीलगायत क्षेत्रका विभिन्न होटल तथा पसलमा शुक्रबार अनुगमन गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका अखाद्य सामग्री नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले जानकारी दिएका छन् । केही स्थानमा भेटिएका शङ्कास्पद खाद्य पदार्थको गुणस्तर परीक्षण गर्न नमूना सङ्कलन गरेको भन्दै उनले अनुगमनका क्रममा स्थानीय पसललाई मूल्यसुची राख्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न सुझाव दिइएको बताएका छन् ।

गैँडाकोटमा सञ्चालित अधिकांश किराना पसल तथा होटलहरुमा चिसो पेय पदार्थको म्याद गुज्रिएको अवस्थाका फेला परेका आचार्यले जानकारी दिएका छन् । म्याद गुज्रिएका पेय पदार्थ भेटिएको पसलका सञ्चालकले आफूहरुलाई डिलरले झुक्याएर त्यस्ता सामग्री छाड्ने गरेको गुनासो गरेका थिए । मूल्यसूची तथा परलमा साइन बोर्ड नराखेको, व्यवसाय दर्ता र नवीकरण नभएको, किराना पसलमा खाद्य सामग्री र विषादी एकै स्थानमा राखिएको, सरसरफाइमा कमजोरी भेटिएको पाइएकाले व्यवसायीलाई सचेत गराइएको आचार्यको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कावासोती, गैँडाकोट नगरपालिका उपभोक्ता हित संरक्षण समिति, इलाका प्रहरी कार्यालय गैँडाकोट र गैँडाकोटको नगर प्रहरीले संयुक्तरुपमा बजार अनुगमन गरेका हुन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्