विवाह गर्दा वडाको सिफारिस अनिवार्य, बालविवाह हुन नदिने पालीकाको मुख्य उदेश्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । बालविवाह हुन नदिन तिला गाउँपालिका-६ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको हो ।

गाउँपालिकाले उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको हो । सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको वडाध्यक्ष जंगबहादुर रोकायाले जानकारी दिएका छन् । कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो ।

वडाध्यक्ष रोकायाले भने, ‘विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको छ । वैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका छौँ ।’ कानुनीरूपमै विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । तिला-६मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा १ सय १० गरी जम्मा २ सय १३ घरधुरी रहेका छन् । अहिले वडाको सिफारिस अनिवार्य गरेपछि वैशाखयता पाँच जना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् ।

विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने हुन्छ । उमेर नपुग्दै विवाह गर्ने सुडीगाउँमा दुई र घोडेगाउँमा एक बालविवाह गर्नेलाई रोक्ने काम भएको वडाध्यक्ष रोकायाको भनाइ छ । वडाको सिफारिस अनिवार्य गरे पनि तिलाका अरु वडाले प्रभावकारीरूपमा निर्णयलाई कार्यान्वयन गर्न नसकेको तिला-१ का स्थानीय उपराज रावतले बताएका छन् ।

वडाध्यक्षहरूले गाउँमा हुने विवाहलाई उमेर पुगे-नपुगेको जानकारी लिनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्