व्यक्तिगत लगानीमा वडाध्यक्षद्धारा इन्टरनेट सेवा नि:शुल्क उपलब्ध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वडाध्यक्षले आफ्नो व्यक्तिगत लगानीमा इन्टरनेट सेवा नि:शुल्क उपलब्ध गराएका छन् । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-७का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएका हुन् ।

उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका छन् । इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि-वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिएका छन् । उनले भने, ‘जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो । साथै, सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ ।’ उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पाको भनाइ छ ।

उनले भने, ‘इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थी, अभिभावक, सुरक्षार्कीलगायत लाभान्वित हुन्छन् ।’ इन्टरनेट सेवा निशुल्क पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् । सुरुआतमा लाग्ने इन्टरनेट जडानखर्चसहित वार्षिकरुपमा तिर्नुपर्ने इन्टरनेट खर्च रु १२ हजार ५ सय वडाध्यक्ष शेर्पाले नै बेहोरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्