भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स)मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित १०८औँ स्थानमा देखिएको छ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको हो ।

गत वर्ष अर्थात् सन् २०२२मा नेपाल ३४ अङ्कसहित ११०औँ स्थानमा थियो । त्यसैगरी सन् २०२१मा ३३ अङ्कसहित ११७औँ स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका १८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेकामा कम भ्रष्टाचार हुने मुलुकमा ९० अङ्कसहित डेनमार्क पहिलो स्थानमा छ । कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड दोस्रो, न्यूजिल्यान्ड तेस्रो, नर्वे चौथो र सिङ्गापुर पाँचौँ स्थानमा छन् । त्यसपछि क्रमश:स्वीडेन, स्विजरल्यान्ड, नेदरल्यान्ड, जर्मनी र लग्जेम्बर्ग छन् । उक्त सूचीमा सोमालिया ११ अङ्कसहित १८०औँ स्थानमा छ ।

यस्तै, भेनेजुयला, सिरिया, दक्षिण सुडान, यमनलगायत मुलुकहरु बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छन् । नेपालका दुई छिमेकी मुलुकमध्ये भारत ३९ अङ्कसहित ९३औँ स्थानमा र चीन ४२ अङ्कसहित ७६औँ स्थानमा छन् । ट्रान्सपरेन्सी इन्टरनेसनको भ्रष्टाचार अनुभूति सूचकाङ्कले सम्बन्धित देशको सार्वजनिक क्षेत्र कति भ्रष्ट छ भन्ने कुरा देखाउँछ ।

यो सूचकाङ्क तयार पार्नका लागि विश्व बैंक, वल्र्ड इकोनोमिक फोरमलगायत विभिन्न संस्थाबाट प्राप्त तथ्याङ्कलाई विश्लेषण गरिएको जनाइएको छ । जसमा विभिन्न १३ प्रकारका सर्वेक्षण तथा जाँच गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले उल्लेख गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्