७५ वर्षको उमेरमा पाइन् दर्जीले नागरिकता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लेटाङ नगरपालिका-३की नेप्टी दर्जीले ७५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छिन् । घरपरिवारविहीन दर्जीको अहिलेसम्म आफन्त कोही नभएका कारण नागरिकता विहीन हुनुपरेको उनले बताएकी छिन् ।

उनले लेटाङ-३का वडाध्यक्ष डम्बर बहादुर राईको पहलमा नागरिकता प्राप्त गरेकी हुन् । बोल्न र सुन्न नसक्ने दर्जी शारीरिक रुपमासमेत अशक्त छिन् । उनले नागरिकताबाट वञ्चित हुँदा राज्यबाट पाउने सेवा सुविधाबाटसमेत वञ्चित हुनुपरेको थियो । दर्जी चार दशकअघिदेखि लेटाङबजार आसपासमा बेसहारा भई हिँड्डुल गर्दै आएकी छिन् ।

यस्तै, उनको नागरिकतामा सनाखत गर्ने कोही नभएकाले उनी नागरिकता पाउनबाट वञ्चित भएकी हुन् । दर्जीको नागरिकतामा वडाध्यक्ष राईले सनाखत गरेका छन् । एक सहाराविहीन आमालाई नागरिकता दिलाई वडाध्यक्ष राईले सिङ्गो नगरपालिकाको इज्जत बढाउन सफल भएको नगर प्रमुख भूपेन्द्रकुमार लावतीको भनाइ छ ।

वडाध्यक्ष राईले मोरङका प्रमुख जिल्ला अधिकारीको सल्लाहअनुसार दर्जीको संरक्षक भई नागरिकता दिलाउन सफल भएको जानकारी दिएका छन् । दर्जीलाई सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले लेटाङ नगरपालिकाको परिसरमा आई नागरिकता हस्तान्तरण गरेका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्