नेपालमा कलेजोको सफल प्रत्यारोपण !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा कलेजोको सफल प्रत्यारोपण भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण भएको हो ।

यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण गर्ने गरिएकामा अब नेपालमै नेपाली चिकित्सिकले नै यो काम गर्ने भएका हुन् । अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुख प्राध्यापक डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत पुस २७ गते नेपाली चिकित्सकको टोलीले ४१ वर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो । त्यसपछि नेपालमै नेपाली चिकित्सकले कलेजोको प्रत्यारोपण गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ ।

‘हामी नेपालमै कलेज प्रत्यारोपणमा सक्षम भएका छौँ । नेपालमै कलेजो प्रत्यारोपणका लागि यो ऐतिहासिक र कोसेढुङ्गा हो’, उनले भने, ‘यसअघि हामी विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गर्दै आइरहेका थियौँ ।’ उनका अनुसार यसअघि अस्पतालमा कलेजो प्रत्यारोपण गर्न भारतीय चिकित्सकको सहयोग लिने गरिन्थ्यो । अस्पतालमा गरिएको यो कलेजो प्रत्यारोपण ११औँ सफल प्रयास हो ।

यस्तै, अस्पतालमा गत पुस २७ गते नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो । ती पुरुषलाई ४० वर्षे श्रीमतीले कलेजो दान गरेका थिए । चिकित्सक डा भण्डारीले दुवैको स्वास्थ्य राम्रो रहेको जनाएका छन् । उनका अनुसार कलेजोको सफल प्रत्यारोपण गरेका बिरामी अहिले स्वस्थ्य भई बिहीबार बिहान डिस्चार्ज भएका छन् । उनकी श्रीमती भने १० दिनमा डिस्चार्ज भएकी थिइन् ।

वरिष्ठ कलेजो रोग विशेषज्ञ डा भण्डारीले ५० जना चिकित्सकसहितको टोलीले करिब १२ घण्टामा ती पुरुषमा कलेजो प्रत्यारोपण गरिएको जनाएका छन् । अस्पतालमा कलेजो प्रत्यारोपणका लागि रु २५ देखि ३० लाख खर्च लाग्छ । विदेशमा भने कलेजो प्रत्यारोपण गर्न करिब रु १ करोड लाग्छ ।

नेपालमा सरकारी त्रिवि शिक्षण अस्पताल र मानव अङ्ग प्रत्यारोषण केन्द्रमा कलेजो प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण केन्द्रमा सन् २०१६ र त्रिवि शिक्षण अस्पतालमा सन् २०१९बाट कलेजो प्रत्यारोषण सुरु गरिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्