नेपाल प्रहरीद्धारा एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल प्रहरीले एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेको छ । प्रहरीले एकान्त स्थानमा पार्किङ गर्दा मोटरसाइकल हराउने हुँदा यस्तो नगर्न अनुरोध गरेको हो ।

नेपाल प्रहरीले हराएका २ सय ५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकल चालु आर्थिक वर्षको ६ महिनामा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो । कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका २ सय ५२ सवारीसाधन सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार शुक्रबारमात्रै पनि १७ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ । यसमा १४ वटा मोटरसाइकल र तीनवटा स्कुटर रहेका छन् । त्यसैगरी प्रहरीले अवैधरूपमा नेपाल भित्रिएका १२ सवारीसाधन भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता भट्टको भनाइ छ । चालु आर्थिक वर्षको हालसम्म चोरीका २० सवारीसाधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बूढानीलकष्ठ, चुनदेवी, फर्पिङ र नयाँबसपार्कलगायतका स्थानमा दुई पाङ्ग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो । आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेनलक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान नगर्दा चोरीका घटना बढ्ने गरेको छ ।

सवारीसाधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अवलम्बन गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता भट्टले सर्वसाधारणमा अनुरोध गरेका छन् । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १ सय ३, नेपाल प्रहरीको हटलाइन नम्बर १ सयमा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्