माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु भएको हो ।

राष्ट्रियसभा गृहमा सुरु भएको बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता बैठकमा समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुन:निर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

यस्तै, सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको हो । बैठक आइतबारदेखि सोमबारसम्म चल्नेछ । माओवादीको केन्द्रीय समिति चार सय नौ सदस्यीय छ । त्यसैगरी वैकल्पिक केन्द्रीय सदस्य १ सय ९० जना छन् । सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीलाई पनि बैठकमा आमन्त्रण गरिएको छ ।

माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ । विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले प्रस्ताव गरेको विधानमाथि माओवादीको स्थायी समिति बैठकमा छलफल गरिसकेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्