पाखो जग्गा बन्यो कागती बगैँचा, कागती बिक्रीबाट ६ लाख कमाइ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भिरालो पाखो जमिन । चारैतिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन् । पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट ६ लाख कमाइ पनि भएको छ ।

बाँझो जग्गामा कागतीको सम्भावना देखेका बागलुङको गलकोट-११ रिघाका ३५ वर्षीय दानबहादुर श्रीषले चार वर्षअघि लगाएका १ हजार २ सय बिरुवाबाट पहिलो पटक उत्पादित कागती काठमाडौँ र पोखरा निर्यात भइसकेको छ । श्रीसले कागतीखेती गर्ने उदेश्यले उक्त जग्गा खरिद गरेका थिए । झाडीले घेरिएको त्यही बाँझो जग्गामा अहिले लटरम्म कागती फलेका छन् । गाउँको बाँझो रहेको जमिन खरिद गरेर २०७६ साउनमा कागतीका बिरुवा लगाएका श्रीषले पहिलो पटक रु लाखको कागती बिक्री गरेको जानकारी दिएका छन् ।

यस्तै, बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी ३६ रोपनी जग्गामा व्यावसायिक कागतीखेती गरेका हुन् । ‘कागतीको सम्भावना देखेपछि ३६ रोपनी जग्गामा कागतीखेती थालेको २०७६ सालमा हो । पाँच वर्ष पूरा हुँदा कागती फल्यो, पहिलो वर्ष नै ६ हजार किलो कागती उत्पादन भएको थियो । थोक मूल्य रु १ सय प्रतिकिलोका दरले कागती बिक्री गरे’, उनले भने ‘खाली र झाडी बन्दै गएको जमिनमा कागतीखेतीसहित बाख्रापालनको उदेश्य थियो, बाख्रापालन छाडे, अब कागतीबाट राम्रो सम्भावना देखेको छु ।’ जग्गा खरिद, व्यवस्थापन, बिरुवा खरिदसँगै हालसम्म ३० लाख लगानी गरिसकेको श्रीष बताँछन् । तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषिउद्यम गर्ने सोचमा पुगेपछि श्रीष कृषि तथा पशु फर्म दर्ता गरेर कागतीखेतीमा आकर्षित भएका हुन् । गलकोटसहित छिमेकी बजारको कागती आयात प्रतिस्थापन गर्नका लागि कागतीखेतीमा लागेको उनको भनाइ छ ।

बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागतीखेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोप्नुभएको श्रीषको कागती बगैचा अहिले हराभरा भएको छ । हजुरबाबा भीमबहादुर श्रीषको प्रेरणाले स्वदेशमै केही गर्ने सोच पलाएको यूवा कृषक श्रीष बताउँछन् । युवाहरु उत्पादनसँग नजोडिने हो भने विदेश पलायनको विकल्प नहुने अवस्था अहिले विद्यमान छ । कागती खेतीलाई सय रोपनीभन्दा बढी जग्गामा विस्तार गर्ने योजनामा छु’, उनले भने “सरकारी तहले युवा किसानलाई प्रेरित गर्न आवश्यक छ, सामान्य अनुदानका कार्यक्रमले मात्रै ठूलो फार्मलाई राहत हुँदैन । नगरपालिकामा व्यावसायिकरूपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरपालिकाले कागतीका बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको गलकोट-११का वडाध्यक्ष श्रीषको भनाइ छ ।

समुद्री सतहबाट १ हजार ३ सय मिटरसम्म कागतीखेतीको राम्रो सम्भावना भएका कारण नगरपालिकाले कागतीखेतीमा अनुदान दिँदै आएको पाइएको छ । गलकोटमा पछिल्लो समय कागतीखेती फस्टाउन थालेको छ । गलकोटका एक दर्जनभन्दा बढी किसान अहिले कागतीखेतीमा आकर्षित भएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्