बागलुङका २ पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको हो ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षमा विनियोजन भएको रु १० लाखले पदमार्ग निर्माण गर्न थालिएको हो । पदमार्ग निर्माणका लागि पर्यटन तथा उद्योग कार्यालय बागलुङसँग सम्झौता गरेर काम सुरु गरिएको गाईघाट झरना–बराहताल पदमार्ग निर्माण समितिका अध्यक्ष नरबहादुर घर्ती मगरले जानकारी दिएका छन् । यस वर्ष विनियोजन भएको बजेटले तालसम्म पदमार्ग पुर्‍याउन नसकिने उनको भनाइ छ ।

यस्तै, पक्की पदमार्ग निर्माण गर्न बढी खर्च लाग्ने हुँदा यस वर्ष करिब ७ सय मिटर निर्माण हुने अध्यक्ष घर्ती मगरले बताएका छन् । गाईघाट झरनादेखि करले गाउँसम्म पदमार्ग निर्माण गर्ने मगरले जनाएका छन् । ताराखोला–१मा पर्ने झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । झरनामा आउने पर्यटकलाई तालसम्म पुर्‍याउन पदमार्गले सहजता प्रदान गर्ने ताराखोला–१ का अध्यक्ष यामबहादुर श्रीसको भनाइ छ । खासगरी पर्यटन प्रवर्द्धनका लागि पदमार्ग निर्माण गर्न थालिएको हो ।

गाईघाट झरनादेखि बराह ताल पाँच किलोमिटर उत्तरमा रहेको जनाउँदै तालसम्मै पदमार्ग पुर्‍याउनका लागि आगामी वर्ष प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने अध्यक्ष श्रीसले बताएका छन् ।
झरनामा गाउँपालिकाले यसभन्दा अगाडि सोलार बत्ती जडान, बगैँचा व्यवस्थापन, खोलामा पुल बनाएको जनाउँदै पछिल्लो समय पर्यटकको आकर्षण पनि बढ्दै गएको उनको भनाइ छ । महिनामा करिब २ हजार बढी पर्यटकले झरनाको अवलोकन गर्ने गरेको श्रीसले बताएका छन् । सबैभन्दा बढी बिदाको दिनमा पर्यटक आउने गरेका उनले जानकारी दिएका छन् ।

झरनालाई व्यवस्थित बनाउनका लागि प्रदेशले चालु आवमा पदमार्ग निर्माणसहित रु १५ लाख विनियोजन गरेको उनले जानकारी दिएका छन् । झरनाभन्दा माथि रहेको ताललाई सौन्दर्यकरण गर्नुका साथै त्यस वरपर मन्दिर निर्माणसमेत गरेको वडाध्यक्ष श्रीसको भनाइ छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्