सुन्तला बेचेर ४० लाख रुपैयाँ आम्दानी गर्दै किसान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरेका हुन् ।

विसं २०६४बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट भएका छन् । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ १ हजार ५ सय सुन्तलाका बोट छन् । उनले भने, ‘रोजगारीका लागि विभिन्न देश पुगे । त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तलाखेतीमा लागेको हुँ ।’ उनले विसं २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरुपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन् ।

उनका अनुसार सुन्तला बगैँचामा १ हजार ५ सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन् । उत्पादित सुन्तला काठमाडौँस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ । उनले यस वर्ष कालीमाटीमा प्रतिकिलो रु १ सय २० सम्म सुन्तला बिक्री गरेको जानकारी दिएका छन् । उनले भने, ‘गत वर्ष रु ६० लाखको सुन्तला बगैँचाबाटै बिक्री भएको थियो । तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो ।’ नाम्सीकोट सुन्तला पकेट क्षेत्रका रुपमा परिचित छ ।

महतले नाम्सकोटका करिब २ सय घरधुरीलाई समूहमा विभाजन गरी गत वर्ष कृषि ज्ञान केन्द्र तनहुँले करिब रु ४० लाख बराबरको कार्यक्रम सहयोग गरेको जनाएका छन् । उनका अनुसार शुक्लागण्डकी नगरपालिकाले किसानलाई सुन्तलाखेतीका लागि ड्रम, घाँस काट्ने मेसिनलगायत सामग्री अनुदान दिएको थियो । उनले यस वर्ष रु ४ करोड बराबरको सुन्तला खरिद गरी बिक्री गरेको बताएका छन् । म्याग्दे गाउँपालिकाका किसानबाट रु १ करोड ५० लाख र शुक्लागण्डकीका अलैँचे, नाम्सीकोटलगायत टोलबाट रु २ करोड ५० लाखको सुन्तला खरिद गरी बिक्री गरेको उनको भनाइ छ । उनले सुन्तला बगानबाट प्रतिकिलो रु ७० देखि रु ७५ मा खरिद गरी रु १ सय २० सम्म बिक्री गर्ने गरेको सुनाएका छन् । तनहुँमा यस वर्ष कृषकले सुन्तला बिक्री गरेर रु ३० करोड भित्र्याएका छन् ।

जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको हो । जिल्लामा यस वर्ष ३ हजार ७ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा तीन हजार ६ सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तलाखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका ८ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ ।

कार्यालयले सुन्तलाखेती गर्ने कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । धितालले भने, ‘कृषकलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ ।’ तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा त्यहाँको सुन्तला बिक्री हुने गरेको छ । साथै, जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा त्यहाँको सुन्तला बिक्री हुने गरेको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्