कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार ५ सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने भएको हो ।

इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलका अनुसार दोस्रो चरणमा ७९ हजार ९ सय ३७ जनाको परीक्षा लिइने भएको र उक्त परीक्षा आउँदो २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन हुनेछ । यसैगरी तेस्रो चरणको परीक्षामा ३६ हजार १ सय ७९ जना परीक्षार्थी सहभागी हुने तथा सो परीक्षा २०८१ कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ पुस २ गतेसम्म सञ्चालन हुने भएको छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ १ लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन दिएको इपीएस कोरिया शाखाले जनाएको छ ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भइरहेको र उक्त परीक्षाका लागि एक दिनमा पाँच वटा सिफ्ट तयार गरी दिनमा १ हजार जनाले परीक्षा दिन थालेको इपीएस कोरिया शाखाका निर्देशक कँडेलको भनाइ छ । उनले भनिन्, ‘पहिलो सिफ्टमा करिब ४७ हजार ५ सय १९ जनाले कोरियन भाषा परीक्षा दिनेछन् । शनिबार पनि परीक्षा लिने गरी व्यवस्था मिलाएका छौँ, तीन चरणमा सञ्चालन हुने उक्त परीक्षा आगामी २०८१ पुस २ गते सकिन्छ ।’ परीक्षाको अघिल्लो दिन आफ्नो सिफ्टअनुसार इपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो-मेट्रिक रजिस्ट्रेसन फिङ्र प्रिन्ट दर्ताको लागि उपस्थित भई परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुने इपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठको भनाइ छ ।

यस्तै, परीक्षा समयभन्दा एक घण्टाअघि परीक्षा हलमा परामर्श सुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले बताएकी छिन् । उनका अनुसार उक्त परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ । त्यसैगरी परीक्षामा चिट, कपी गरेको तथा अरू अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गरिने छ । साथै, चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको इपीएस कार्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्