कालीगण्डकीमा बस्ती संरक्षणका लागि तटबन्ध गर्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बागलुङ नगरपालिका-१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध  गर्न थालिएको हो ।

चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाखबाट मालढुङ्गा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिएका छन् । कालीगण्डकीले धार परिवर्तन गर्दा केही वर्षयता कटान तीव्र हुँदै आएको छ । यसैगरी अघिल्लो वर्ष पनि रु ६५ लाख लागतमा केही क्षेत्रमा तटबन्ध गरिएको थियो ।

लक्ष्मीनारायण मन्दिरसँगै मालढुङ्गाबाट खुदुर्के घाटसम्मको बस्ती संरक्षण गर्न थालिएको इञ्जिनियर पौडेलको भनाइ छ । गत पुस महिनादेखि निर्माण समिति गठन गरी तटबन्धको काम धमाधम भइरहेको छ । कालीगण्डकी निरन्तर दोहन हुँदा बर्खामा पानीको बहाव बस्तीसम्म पुग्ने गरेको थियो । तटबन्ध निर्माणपछि मालढुङ्गाको तटीय क्षेत्रका बस्ती, प्रहरीचौकी, लक्ष्मीनारायण मन्दिरलगायतका संरचना जोगिने इञ्जिनियर पौडेलले जनाएका छन् ।

इन्जिनियर पौडेलले भने, ‘बर्खामा कालीगण्डकी उर्लेर आउँदा बस्तीमा बस्ने जोखिम बढेको थियो । अघिल्लो वर्ष केही भागमा काम भयो भने अहिले पनि करिब ४५ मिटर लामो तटबन्ध निर्माण हुन्छ । जसका लागि निर्माण समिति गठन भएर काम सुरु भएको छ, हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ । आगामी असार मसान्तसम्म सम्पूर्ण काम पूरा गर्न ठेकेदारलाई निर्देशन दिइएको छ ।’

तटबन्ध निर्माण समितिका अध्यक्ष भुवन खड्काले पानीमुनि दुई मिटर पक्की पर्खाल उठाउने काम भइसकेको भन्दै अहिले त्यसमाथि ग्याविनसहितको ‘पर्खाल’ उठाइरहेको बताएका छन् । बागलुङ प्रवेशद्वार नजिकै ऐतिहासिक लक्ष्मीनारायणको मन्दिर बन्दै गएको र तटबन्ध बनेपछि यहाँका धेरै घर सुरक्षित हुने उनले दाबी गरेका छन् । अध्यक्ष खड्काले भने, ‘तटबन्धको कामलाई तीव्र बनाएका छौँ । पर्खाल उठाएर ढलान गर्ने काम भइरहेको छ, सम्झौताऋनुसार आठ मिटर उचाइ, ४५ मिटर लम्बाइ हुनेछ, सो अनुसार काम गरिरहेका छौँ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्