‘स्वास्थ्य संस्थाहरुले उपचार खर्चमा एकरुपता ल्याउन मापदण्ड बनाउनुपर्छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरुले गर्ने परीक्षण र उपचार खर्चमा एकरुपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छिन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

सांसद कार्कीले तरकारीदेखि तेलसम्म र नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकिदिएको भएपनि बिरामीको उपचारजस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क नतोकेको बताएकी छिन् । उनले परीक्षण र उपचारको कुनै शुल्क निर्धारण नहुँदा नीजि र सरकारी स्वास्थ्य संस्थाहरुले आफूखुशी शुल्क लिइरहेका भन्दै यसको नियमन हुनुपर्ने जनाएकी छिन् ।

यसैगरी उनले स्वास्थ्य उपचार गर्न पनि लुगा र जुत्ता बेचेजस्तो मोलमोलाइ भइरहेको बताएकी छिन् । एउटै ल्याव परीक्षणमा पाँच गुणा बढीसम्म शुल्क लिइएको प्रमाण आफूले भेटेको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले शुल्क निर्धारण समितिलाई तत्काल सक्रिय बनाएर शुल्क निर्धारण गर्न सरकारसँग माग राखेकी छिन् ।

सांसद कार्कीले भनिन्, ‘सभामुखमार्फत स्वास्थ्यमन्त्रीज्युलाई आग्रह गर्दछु । स्वास्थ्य मन्त्रालय अन्तर्गतको शुल्क निर्धारण समितिलाई तत्काल सक्रिय बनाइयोस् र स्वास्थ्य संस्थाहरुमा दिइने स्वास्थ्य सेवाहरुको वर्गिकृत आधारमा शुल्क निर्धारण गरेर नागरिकले थाहा पाउने व्यवस्था मिलाइयोस् । हामीसँग विज्ञहरु पनि छन् । कस्तो गर्न सकिन्छ ? कसरी गर्न सकिन्छ भनेर खाका पनि छ । मागोस्, सोधोस्, खोजोस् । सहयोग गर्नका लागि हामी तयार छौँ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्