सुर्खेतका ३२ हजार बालबालिकालाई खोप लगाइँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । स्वास्थ्य सेवा कार्यालय सुर्खेतले ३२ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाउने भएको छ । कार्यालयले ९ महिनादेखि ५ वर्ष र ६ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउने भएको हो ।

खोप सेवा प्रदान गर्न कार्यालयले २ सय २२ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिएका छन् । उनका अनुसार एक सय २५ बालबालिका बराबर एक स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ ।

यसैगरी पहिलो चरणमा सुर्खेतको गुर्भाकोट, भेरीगङ्गा, लेकबेँसी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिकामा यही फागुन १३-१५ र दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका तथा चौकुने र सिम्ता गाउँपालिकामा खोप लगाइने कार्यालय प्रमुख गौतमको भनाइ छ । खोप कार्यक्रम नि:शुल्क र जीवन सुरक्षाका लागि भएकाले कसैलाई नछुटाउन उनले आग्रह गरेका छन् ।

स्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले छुट भएका बालबालिका समेटिउन् भनेर पालिकास्तरीय खोप समन्वय समितिलाई पनि अभिमुखीकरण दिइसकिएको बताइएको छ । ‘अभियानका लागि चाहिने सामग्रीको तर्जुमा भइसकेको छ’, उनले भने, ‘दादुरा रुबेला राष्ट्रिय खोप अभियान भएकाले यसलाई सफल पार्न सबै सरोकारवालामा समन्वय, सहकार्य र सहजीकरण आवश्यक छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्