भूकम्प प्रभावित ३ हजार व्यक्तिले लिए प्रजनन स्वास्थ्य सेवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रुकुम पश्चिमममा सञ्चालन भएको बृहत् प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा २ हजार ८ सय ७० जनाले प्रजनन स्वास्थ्य सेवा लिएका छन् । गत कात्तिक १७ गते गएको भूकम्पप्रभावित दुई स्थानीय तह आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका नागरिकले प्रजनन स्वास्थ्य शिविरमार्फत उक्त सङ्ख्यामा सेवा लिएका हुन् ।

नेपाल परिवार नियोजन सङ्घको आयोजना, आइपिपिएफ परियोजनाको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयको व्यवस्थापनमा भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । गत मङ्सिर ११ गतेदेखि हालसम्म सञ्चालन भएको शिविरबाट जिल्लामा २ हजार ८ सय ७० भूकम्पप्रभावित क्षेत्रका नागरिकलाई प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न सेवा दिएको नेपाल परिवार नियोजन सङ्घ दाङका शाखा प्रवन्धक वसन्त खनालको भनाइ छ ।

उनका अनुसार शिविरबाट २ हजार ५ सय १० महिला, ३ सय ५९ पुरुष र एक जना अपसङ्ख्यक नागरिक लाभान्वित भएका छन् । यस अन्तर्गत अपाङ्गता भएका ३७, पाठेघर मुखको क्यान्सर जाँच १ हजार ६ सय ७४, स्त्रीरोगसम्बन्धी सेवा २ हजार २ सय २९ जनाले सेवा लिएका थिए ।

यस्तै, यौनजन्य सङ्क्रमणको उपचार १ हजार २ सय ४३, परिवार नियोजनको लामो अवधिको सेवा १ सय ९८, आइयुसिडी लामो अवधिको साधन प्रयोग गर्ने दुई, पाठेघर खसेका ४९ महिला, २ सय ६ बालबालिका, गर्भवती तथा सुत्केरीसम्बन्धी सेवा १ सय ६२ जनालाई शिविरबाट सेवा दिएको शाखा प्रबन्धक खनालले बताएका छन् । त्यस्तै, शिविरमार्फत ४१ सुत्केरीलाई मर्यादा सामग्री वितरण, नौजना को एचआइभी परीक्षण र ९२ गर्भवती महिलालाई भिडियो एक्सरे जाँच गरिएको थियो । भूकम्प प्रभावित ती दुई पालिकामा सञ्चालित १ सय ७० सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रमबाट ७ हजार ७ सय ९७ व्यक्ति लाभान्वित भएको परिवार नियोजन सङ्घका अनुगमन तथा मूल्याङ्कन प्रबन्धक चेनराज जोसीको भनाइ छ ।

त्यसैगरी गत मङ्सिरदेखि हालसम्म सञ्चालन भएका १७ शिविरबाट उक्त सङ्ख्यामा नागरिकले सेवा पाएका हुन् । रुकुम पश्चिमका ती दुई-दुई स्थानीय तह सहित जाजरकोटका चार स्थानीय तह बारेकोट र कुसे गाउँपालिका तथा नलगाड र भेरी नगरपालिकामा सञ्चालन भएका ४६ शिविरबाट ७ हजार ३ सय भूकम्पप्रभावित नागरिकले सेवा लिएको सङ्घका अनुगमन तथा मूल्याङ्कन प्रबन्धक जोसीले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्